एमालेले तीनवटै क्षेत्रबाट उम्मेदवार सिफरिस
Sunday, September 4th, 2022, 8:18 pm
Kalpristha
नेकपा एमालेले बाँकेका तीन वटै क्षेत्र नम्बरबाट प्रतिनिधी सभाका लागि आफ्ना उम्मेवारको नाम सिफारिस गरेको छ । एमालेले आइतबार बाँकेको क्षेत्र नम्बर १ बाट ४ जना, क्षेत्र नम्बर २ बाट सातजना र क्षेत्र नम्बर ३ बाट तीनजनाको नाम सिफारिस गरेको हो ।
क्षेत्र नम्बर १ बाट सूर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा र बलराम भट्टराईको नाम सिफारिस गरिएको हो । यस्तै क्षेत्र नम्बर २ बाट मोहम्मद हारुन, शिव डोटेल, रबिन्द्र लम्साल, अक्रम अन्सारी, रचना श्रेष्ठ, पार्वती बोहरा गुरुङ र सरस्वती शर्माको नाम सिफारिस भएको एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले जानकारी दिए ।
यसैगरी क्षेत्र नम्बर ३ बाट किस्मतकुमार कक्षपति, रत्न खत्री र कृष्णा सार्कीको नाम सिफारिस गरिएको एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेले बाँकेको क्षेत्र नम्बर ३ मा मात्र प्रतिनिधी सभा सांसद जितेको थियो । उक्त निर्वाचनमा तत्कालीन बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका महेश्वर गहतराज अथक निर्वाचित भएका थिए ।
उनलाई नेकपा एमालेले समर्थन गरेको थियो । नेता गहतराजले नेपाली कांग्रेसका माधवराम खत्रीलाई पराजित गरेका थिए । यस्तै क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी(जसपा)का मोहम्मद ईस्तियाक राई निर्वाचित भएका थिए ।
बाम गठबन्धनका तर्फबाट सूर्य चिन्ह लिए उठेका स्वतन्त्र उम्मेदवार पशुपति दयाल मिश्रलाई राईले पराजित गरेका थिए ।
त्यसैगरी क्षेत्र नम्बर ३ मा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार नन्दलाल रोकाय निर्वाचित भएका थिए । रोकायले नेपाली कांग्रेसका बादशाह कुर्मीलाई पराजित गरेका थिए ।