गाउँ-गाउँमा पुर्याइँदै आयुर्वेद स्वास्थ्य
Tuesday, September 13th, 2022, 8:09 pm
Kalpristha
बाँके जिल्लाका दुरदराजमा स्वास्थ्य उपचार पुर्याउन लागि परेको छ, बाँके आयुर्वेद । ग्रामीण क्षेत्रका व्यक्तिलाई स्वास्थ्यतर्फ गम्भीर बन्न र निरोगी बन्न प्रेरित गर्न बाँके आयुर्वेदले शिविर अभियान संचालन हुँदै आएको छ ।
यस्तो अभियानले ग्रामीण क्षेत्रका मानिस समयमै आफ्नो स्वास्थ्यतर्फ सतर्क हुने बाँके आयुर्वेदकी डा.गीता रेग्मीले बताउँछिन् । उनका अनुसार पछिल्लो समय नसर्ने रोगको प्रकोप बढेको छ । अव्यस्थित जीवनशैली र अस्वस्थ खानपानको कारण नसर्ने रोगको संक्रमण दर बढेको हो । नसर्ने रोगको दरमा कमी ल्याउन यस्तो अभियान सुरु गरिएको डा.रेग्मीले बताइन् ।
ॅशिविरमार्फत हामीले व्यक्तिको उमेर अनुसारको तौल भए नभएको, उमेर अनुसार हुनुपर्ने तौल जानकारी लिने गर्छौ,’ डा.रेग्मीले भनिन्, ‘सुगरको अवस्था र मात्राबारे जानकारी लिएपछि व्यक्तिलाई हुन सक्ने सम्भावित रोग नियन्त्रणका लागि आवश्यक प्ररामर्श दिने गर्छौ ।’
शिविरमार्फत रोग नियन्त्रणका लागि अपनाउनुपर्ने खानपान र योग अभ्यासबारे जानकारी दिने गरिएको छ । यसपछि १५ दिनसम्म आयुर्वेदकै नेतृत्वमा योगाभ्यास संचालन गरिन्छ । १५ दिनपछि पुनः शिविर संचालन गरिन्छ र अघिल्लो पटक शिविरमार्फतर मापन गरिएको सुगरको मात्रा, तौललगायतका कुरा हाल के छ र त्यसपछि पुनः गनुपर्ने कार्य शुझाउने गरिएको छ ।
वर्तमान व्यस्त जीवन र अनियमित खानपानले गर्दा अनेकौं रोगहरु दिनप्रतिदिन मानव शरीरमा जन्मिरहेका छन् । जसको मानिसलाई धेरै समयपछि जानकारी हुन्छ । जब रोग जटिल अवस्थामा पुगिसक्छ, त्यसपछि मानिसलाई उपचार गर्न गाह्रो भइसकेको हुन्छ ।
‘दिगो स्वास्थ्यको आधार : आयुर्वेद उपचार’ भन्ने शन्देशसहित बाँके आयुर्वेद गाउँ घरमा पुगिरहेको हो ।
जिल्लाका विभिन्न पालिकामा रहेको आयुर्वेद शाखाको समन्वय सहकायमा शिविर संचालन गरिएको छ । यस क्रममा सोमबार बाँकेको बैजनाथ गाउँपालिका वडा नं ३ भैरहवास्थित वडा कार्यालयमा आयुर्वेद स्वास्थ्य शिविर संचालन गरियो ।
शिविरमा स्थानीयको उल्लेख्य सहभागिता देखियो । आयुर्वेद उपचारमार्फत पनि विभिन्न रोगहरु नियन्त्रण गर्न सकिने र गाउँ घरमा त्यसको महत्व बुझाउन ग्रामीणस्तरमा शिविर संचालन गर्ने गरिएको बाँके आयुर्वेद अस्पताल विकास समितका सदस्य अछरी पोखरेलले बताइन् । सदस्य पोखरेलका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा नियमितरुपमा शिविर संचालन भइरहेको छ ।
भैरहवामा संचालित शिविरमा डा.अनिलकुमार चौधरी, डा.रेग्मी, स्वास्थ्यकर्मी सीताराम चौधरी, ल्याब टेक्निसियन जमुना गिरीको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
सो क्रममा अस्पताल बिकास समितिका अध्यक्ष जनकराम भण्डारीको समेत उपस्थिति रह्यो ।
शिविरमार्फत ग्याष्ट्रिक, उच्च रक्तचाप, मधुमेह, मोटोपन, अर्श, अर्बुद, मृगौला तथा स्वास प्रश्वास सम्बन्धि स्वास्थ्य सेवा दिने गरिएको छ ।