ग्रेटर अष्टिन नेपाली सोसाइटीको अभियान, बृद्ध आमा वुवाको सम्मान
Monday, May 29th, 2017, 8:57 am
amit
के सी शेर
अष्टिन (टेक्सास) – ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स)ले अमेरीकामा फरक कार्यक्रमको शुरुवात गरेको छ ।
टेक्सासको राजधानी अष्टिन आसपासमा बसोबास गरिरहेका नेपाली बृद्ध आमा वुवालाई सम्मान तथा अभिनन्दन गर्दै अष्टिनमा फरक कार्यक्रमको शुरुवात गरेको हो । आइतवार अष्टिनका नेपालीहरुको साझा संगठन ग्रेटर अष्टिन नेपाली सोसाइटी ग्यान्सले एक कार्यक्रमको आयोजना गरि १७ जना बृद्ध आमा वुवालाई सम्मान गरेको अध्यक्ष देवराज न्यौपानेले जानकारी दिनुभयो ।
बृद्ध आमा वुवालाई एकै ठाउं जम्मा गरेर सम्मान र अभिनन्दन गरियो अध्यक्ष न्यौपानेले भन्नुभयो – “यसवाट बुवा आमाहरुको एक आपसमा परिचय गर्ने मौका समेत मिलेको छ ।” यस्तै कार्यक्रमले बृद्ध आमा वुवाहरुलाई सकारात्मक उर्जा प्रदान गर्ने भएकोले कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष न्यौपानेले बताउनुभयो ।
अन्य औपचारीक कार्यक्रमहरु अमेरीकामा सयौंको संख्यामा रहेका नेपालीहरुका संघ संस्थाले गरिहेपनि बृद्ध आमा वुवाको सम्मान कार्यक्रम अलि फरक खाले भएको र यो अभियानलाई ग्यान्सले जारी राख्ने अध्यक्ष न्यौपानेको भनाई छ ।
ग्यान्सले सम्मान तथा अभिनन्दन गरेकोमा हर्षित हुंदै अन्तरराष्ट्रिय साहित्य समाजका केन्द्रिय सल्लाहकार मोहन सिटौलाले यस्ता कार्यक्रमहरुले बृद्ध बृद्धाहरुको हौसला र मनोबल बढ्ने विश्वास व्यक्त गर्नुभयो । ग्यान्सले सम्मान तथा अभिनन्दन गरेकोमा खुशी छु सम्मानित भएपछि सिटौलाले भन्नुभयो – “ग्यान्सको यो उदाहरनीय कार्यको उच्च प्रशंसा गरेको छु ।”
अध्यक्ष देशराज न्यौपानेको सभापतित्व तथा ग्यान्सका कार्यसमिती सदस्य धर्मानन्द गौतमले संचालन गरेको कार्यक्रममा मोहन सिटौला, शिव प्रसाद उपाध्याय, राजेश्वर निरौला, हरि पराजुली, देबी ढकाल, हेम पाठक, चुडामणी दाहाल लगायतले आफ्ना बिभिन्न रचना सहितका मन्तव्य राखेका थिए ।
यसैबीच सो अवसरमा अष्टिनमा ग्यान्सले निर्माण गर्ने भनिएको सामुदायीक भवन बारे पनि गम्भिर छलफल भएको अध्यक्ष न्यौपानेको भनाई छ । छलफलले १ सय ११ सदस्सिय भवन निर्माण समिती पनि बनाएको छ । यस्तै आउंदो जुन महिनाको १० तारिख शनिबार देखी अष्टिन स्थित एसियन अमेरीकन रिसोर्स सेन्टरमा नेपाली पाठशालाको शमर कक्षा र योग पनि संचालन गरिने बताइएको छ ।