टेक्सासमा आइटी क्षेत्रमा कार्यरत नेपाली युवकको समुन्द्रमा डुबेर मृत्यु
Tuesday, May 30th, 2017, 2:24 am
amit
टेक्सास (अष्टिन)- अमेरीकाको टेक्सास स्थित कर्पसकृष्टी क्षेत्रमा पर्ने समुन्द्रमा डुबेर एक नेपाली युवकको मृत्यु भएको छ ।
आइतवार बिदाको दिन पारेर अमेरिकाका अन्य राज्यबाट आएका साथीहरु संग रमाइलो गर्न समुन्द्री तटमा गएका शुबोध तण्डुकारको डुबेर ज्यान गएको शुबोधलाई नजिक बाट चिन्ने फोर्टवर्थ निवासी बिजय लोहनीले जानकारी दिनुभयो । नेपालमा काठमाण्डौको थापाथली घर भएका करिब ३४ /३५ वर्षिय तण्डुकार टेक्सास अष्टिनको कायलमा केही समय अघि घर किनेर बस्दै आएका थिए ।
आइटी क्षेत्रमा कार्यरत शुबोधले केही समय अघि अमेरीकाको नागरिकता लिएर नेपाल गइ विवाह गरेर अष्टिन फर्केपछि घर किनेको बताइएको छ । आइतवार अपरान्ह ४ बजे समुन्द्रमा डुबेर ज्यान गुमाएका तण्डुकारको शवलाई कर्पसकृष्टी क्षेत्रको एक स्थानीय अस्पतालमा राखिएको बताइएको छ ।
न्युयोर्कमा रहेका मृतक तण्डुकारका मामा टेक्सास आउने तयारीमा रहेको र नेपालबाट पनि आमा वुवालाई ल्याउने प्रक्रिया शुरु भइसकेको बताइएको छ ।
अन्तिम संस्कारको लागी नेपालबाट शुबोधका आमा वुवा आउने र अष्टिनमा उनको घर भएकोले अन्तिम संस्कारको लागी ग्रेटर अष्टिन नेपाली सोसाइटीले समन्वय र सहयोग गर्न लागेको ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देबराज न्यौपानेले बताउनुभयो ।
मृतक तण्डुकारकी उनकी एक बहिनीमात्र छिन् । उनका पिता शिक्षक छन् भने आमा बैंकबाट रिटायर्ड कर्मचारी हुन् ।