कोहलपुरको रोहिणीमा बनेको भ्युटावर निर्माणमा भ्रष्टाचार
Sunday, September 25th, 2022, 1:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ असोज
कोहलपुर नगरपालिका वडा नम्बर १२ रोहिणीमा बनेको भ्युटावर निर्माण भ्रष्टाचार भएको आरोप लागेको छ ।
उक्त टावर सृजना सामुदायिक वन उपभोक्ता समुहले निर्माण गरेको हो । लागत इष्टिमेट, नापी किताब कार्य सम्पन्न प्रतिवेदन समेत तयार नगरेर उक्त भ्युटावर निर्माण गरिएको पाइएको छ ।
आर्थिक वर्ष २०७१–७२ र २०७२–७३ मा सो भ्युटावर निर्माणको लागि वन उपभोक्ता समुहले प्राविधिक विज्ञको सहयोग नलिई १५ लाख ८ हजार ६ सय ९ रुपैयाँ खर्च गरेको भन्दैं अख्तियारमा उजुरी परेको थियो । उक्त विषयमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको अख्तिार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उपभोक्ता समितिले निर्माण गरेको भ्युटावर गुणस्तरहनी र असुरक्षित रुपमा निर्माण गरिएको अख्तियारले जनाएको छ ।
नियमविपरित भ्युटावर निर्माण गरी सार्वजनिक सम्पक्तिको हानिनोक्सानीको गरेको भन्दैं भ्युटावर निर्माण गर्ने वन उपभोक्ता समितिका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनु कुमार पाण्डे र सचिव दिलमाया राना विरुद्ध अख्तियारले आरोप पत्र दायर गरेको छ ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ को कसुर देखिएकोले सोही दफा १७ ले निर्देषित गरे बमोजिमको कारबाहीको माग गरिएको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा(१) र ऐ. दफाको उपदफा(१) को खण्ड (च) बमोजिम अध्यक्ष, सचिव र कोषाध्यक्षलाई १५ लाख ८ हजार ६ सय ९ रुपैयाँ विगो कायम गरि कैद र जरिवानाका लागि अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका छन् ।