ई–पालिकाको पहिलो भर्जन सार्वजनिक
Monday, September 26th, 2022, 3:17 pm
Kalpristha
स्थानीय तहलाई डिजिटल बनाउनु पर्छ भन्ने अभियानमा लागेको निन्जा इन्फोसिस प्रालीले ई–पालिकाको पहिलो भर्जन लन्च गरेको छ । निन्जा इन्फोसिस प्रालीले लामो समयसम्म अध्ययन र अनुसन्धान गरेर ई–पालिकाको पहिलो भर्जन आइतबार लन्च गरेको हो ।
ई–पालिकाको पहिलो भर्जन लन्च गर्दै कम्पनीका अध्यक्ष रमेश क्षेत्रीले कम्पनीले ४ वर्षको अनुसन्धान पछि ई–पालिकाको पहिलो भर्जन लन्च गरेको बताए । क्षेत्रीले पालिकाहरुलाई पेपरलेस प्रविधिमा जान पहिलो खुट्किलोको रुपमा ई–पालिका सत–प्रतिशत सहयोगी हुने बताए ।
उक्त प्रणालीबाट सेवाग्राहीलाई घरमै बसी पालिकाले दिने सेवा, आवश्यक कागजात र लाग्ने समय सम्बन्धित व्यक्तिसहितको विवरण उक्त प्रणालीबाट देख्न सकिने कम्पनीले दाबी छ ।
त्यस्तै ई–पालिका सफ्टवेयर भित्रै पर्ने ‘डिजिटल नागरिक वडापत्र’ पनि मोबाइलमा हेर्न सकिने कम्पनीले बताएको छ ।
निन्जा इन्फोसिस प्रालीले लन्च गरेको ई–पालिकाले सेवाग्राहीलाई सहज र कार्यालयलाई दीर्घकालीन अभिलेख राख्न सहज हुने कम्पनीका प्रबन्ध निर्देशक सगर देवकोटाले बताए ।
कम्पनीका अनुसार अब पालिकामा सेवा लिदा सेवाग्राहीले सहज महसुस गर्न सक्ने र घरमै मोबाइल एपमार्फत सबै आवश्यक कागजात, प्रक्रिया थाहा पाउन सकिने जसले गर्दा समयको बचत हुने दाबी गरेको छ भने सम्बन्धित पालिकासँग सिधा गुनासो दिन र कर्मचारीसँग कुरा गर्न पनि सक्ने कम्पनीले दाबी गरेको छ ।
आइतबार मात्रै लन्च गरेको ई–पालिकाको पहिलो भर्जनको बारेमा बताउँदै कम्पनीका प्राविधिक शाखा प्रमुख शिशिर राईले ई–पालिकाको तेस्रो भर्जनमा जाँदा स्थानीय तह पूर्णतया पेपरलेस र डिजिटल हुने बताए ।

.