वाल्मिकी भन्छन्ः इस्तियाकले गलत कुरा गर्दै भ्रमित पार्दैछन्
Tuesday, November 1st, 2022, 6:25 pm Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ कात्तिक
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकीले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले गलत कुरा गरेर जनतालाई भ्रमित पार्न खोजेको आरोप लगाएका छन् ।
उनले मंगलबार कालपृष्ठ दैनिकसँग कुराकानी गर्दै इस्तियाक राईले भेरी अस्पतालको विकासको बारेमा बोलेको अभिव्यक्ति झुटो भएको बताए ।
इस्तियाक आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभामा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् । राईले जनतासँग भोटमाग्ने क्रममा गरेको कुरा गलत भएको भन्दैं वाल्मिकीले त्यसको बारेमा टिप्पणी गरेका हुन् ।
वाल्मिकीले भने,‘बाँकेको विकासमा स्व. सुशील कोइरालाको कति योगदान छ भनेर सबैलाई थाहा छ । उहाँ प्रधानमन्त्री भएको बेला एसियाली विकास बैंकको योजनाले नेपालगन्जको मुहार फेरेको छ । भेरी अस्पताल स्तरउन्नतीको आधार तय गरेको छ । तर इस्तियाक राईले भेरी अस्पताल र बाँकेको विकासमा बारेमा जनतालाई भ्रमित बनाउने भाषण गर्दै हिडनु भएको छ । जनतालाई सही सुचना दिएर मत माग्ने हो । आफुले गर्दै नगरेको कुराको जस लिनु भनेको बेइमानी हो ।’
भेरी अस्पतालको विकासका लागि बाँकेमा सबै राजनिति दलहरु मिलेर गरेको प्रस्ताव स्व. सुशील कोइराला प्रधानमन्त्री भएको बेला कार्यान्वयनको दिशामा अगाडी बढेको उनले बताए ।
राईले एक सय वर्षमा हुन नसकेको विकास आफुले गरेको भन्ने अभिव्यक्ति पनि झुठो भएको केन्द्रीय सदस्य वाल्मिकीले कालपृष्ठ दैनिकलाई बताए । उनले भने, ‘उहाँ सहरी विकास मन्त्री भएको बेला केहि काम गर्नु भएको छ । त्यसलाई हामीले सम्मान गर्नु पर्छ । तर विकास आफुले मात्र गरेको हुँ भन्ने कुरा गलत हो । भेरी अस्पतालको फोटोमा आफनो फोटो राखेर मैले विकास गरेको हुन भन्ने गलत प्रचार गरिएको छ । प्रोपोगाण्डा गरिएको छ । यो गलत सुचना हो । उनले गलत कुरा गरेर जनतालाई भ्रमित पारेर मत लिने प्रयास गर्दैछन् ।’