विशेषज्ञ सेवा थप्ने प्रयास गर्दै क्यान्सर अस्पताल
Wednesday, November 2nd, 2022, 11:17 am
Kalpristha
काठमाडौं : पश्चिम नेपालमा क्यान्सर रोगका विरामीलाई सेवा दिने उद्देश्यले स्थापना भएको थियो सुशील कोइराला प्रखर क्यान्सर अस्पताल । क्यान्सर रोगको उपचार गर्ने भनेर स्थापना भएपनि क्यान्सर अस्पतालले पुर्ण अझै विशेषज्ञ सेवा भने दिन सकिरहेको छैन् । जसका कारण यस क्षेत्रका क्यान्सर रोगका बिरामीले पुर्ण रुपमा सेवा पाउन सकिरहेका छैनन् । अस्पतालमा युरोलोजिस्ट छन् । तर अस्पतालमा युरिन सम्बन्धि सम्पुर्ण उपचार र सल्यक्रिया भने हुँदैन् । यस्ता थुप्रै समस्याहरु लिएर आउने बिरामीले सेवा नपाएपछि अन्य ठाउँमा उपचार गराउन जानु पर्ने बाध्यता रहेको छ ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति अध्यक्ष टेकेन्द्र मल्लले क्यान्सर रोग सम्बन्धी सम्पुर्ण विशेषज्ञ सेवा विस्तार गर्ने आफनो प्रमुख जिम्मेवारी रहेको बताए । त्यसका लागि नयाँ योजना सहित काम गर्ने योजना अगाडी बढाउने तयारी गरेको उनले बताए ।
मल्लले भने,‘शुसील कोइराला क्यान्सर अस्पतालमा क्यान्सरको सम्पुर्ण विशेषज्ञ सेवा हुनु पर्छ । त्यसका लागि हामीले स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल गरिरहेका छौं । अस्पतालमा आउने सबै बिरामीले क्यान्सरको उपचार गर्न पाउनु पर्छ । सेवा र सुविधाका कारण सम्पुर्ण सेवा लिनको लागि अन्यन्त्र जानु पर्ने बाध्यता छ । तर त्यसको हामी छिटैं अन्त्य गछौं ।’ अस्पतालले छिटैं आइसियु वार्ड पनि संचानल गर्ने योजना बनाईरहेको छ । गत साता निर्मल लामा स्मृति प्रतिष्ठानले क्यान्सर अस्पताललाई ८ वटा आइसियु बेड सहयोग गरेका थिए । प्रतिष्ठानले गरेको सहयोगले पनि आइसियु वार्ड संचालनमा अस्पताललाई सहयोग पुगेको छ ।
अध्यक्ष मल्लले आवश्यक जनशंक्ति र उपकरण थप्ने तयारी भएको पनि बताए । क्यान्सर रोग र यससँग सम्बन्धित आवश्यक पर्ने अन्य सेवालाई विस्तार गर्ने योजना रहेको उनले बताए । उनले भने,‘क्यान्सर अस्पताल भएपनि हामीले सबै सेवा दिन सकेको छैनौं । क्यान्सर अस्पतालमा अन्य जनरल सेवा संचालन गरेर हुँदैन । सर्वप्रथम क्यान्सर रोगीको सम्पुर्ण उपचार सेवा गर्न सक्ने अवस्था भएपछि अन्य सेवा सुरु गर्दा हुन्छ । तर हामीले जुन काम गर्ने भनेर अस्पताल सुरु गरेको थियौं । त्यो नभएर अन्य कुरामा बढी ध्यान दिएका कारण अस्पतालले आफनो सेवा विस्तार गर्न सकेको छैनौं ।’
गत भदौंको २३ गते मल्ल शुसील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षको रुपमा नियुक्त भएका थिए । आफुले नेतृत्व लिएपछि अस्पतालको विशेषज्ञ सेवा १० देखि ४ बजे सम्म नियमित रुपमा संचालन गरेको उनले बताए । अस्पतालमा आवश्यक पर्ने भौतिक पुर्वाधार, उपकरण र जनशंक्तिलाई थप्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक छलफल गरिरहेको उनले बताए ।
बाँकेको खजुरामा रहेको अस्पताले कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका बिरामीलाई उपचारको अन्य ठाउँमा जान नपर्ने गरी सेवा विस्तार गरिनु पर्ने बताउँछन अध्यक्ष मल्ल । खजुरा विशेषज्ञ सेवा नपाएपछि यस क्षेत्रका बिरामी भारतको लखनउ, भरतपुर क्यान्सर अस्पताल चितवन, काठमाडौं जाने गरेका छन् ।
हाल वार्षिक रुपमा करिब १३ सय बिरामी सुशील कोइराला क्यान्सर अस्पतालमा उपचार गराउन आउने गरेका छन् । सम्पुर्ण सुधिवा नभएका कारण प्राय किमो चढाउन मात्र आउने गरेको अस्पतालले जनाएको छ । संघीय सरकारको मातहतमा रहेको क्यान्सर अस्पताल निर्माणको सुरुआत खजुराका स्थानीय जनताबाट सुरुआत गरिएको थियो ।
२०७३ फागुन १५ गते मन्त्रिपरिषदको बैठकले गठन आदेश जारी गर्दै अस्पतालको जग्गा भवन र सम्पूर्ण सम्पत्ति सरकारको स्वामित्वमा लिएर संचालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय हुने बित्तिकैं सरकारले पहिलो पटक २७ करोड रुपैयाँ बजेट बिनियोजन गरेर अस्पतालको बाँकी काम अगाडी बढेको थियो । स्थापना भएको एक दशक पार गर्दा समेत अस्पतालले आफनो लक्ष्य भने हासिल गर्न सकेको छैन । जुन हासिल गर्नु अहिलेको मुख्य चुनौति भएको बताउँछन् अस्पताल विकास समितिका अध्यक्ष एवम् एकीकृत समाजवादीका युवा नेता टेकेन्द्र मल्ल ।