कोहलपुरलाई शिक्षाको हब बनाउने प्रयास
Saturday, November 5th, 2022, 7:17 pm
Kalpristha
नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिकालाई शैक्षिक हवकारुपमा अगाडि बढाउने गरी योजना अघि बढाइएको छ । कर्णाली र सुदूरपश्चिमको प्रवेशद्धारमा रहेको उदाउँदो सहर कोहलपुरलाई शैक्षिक हवका रुपमा विकास गर्ने योजनासहित नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएको हो ।
सामुदायिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुको संयुक्त बैठक एवम् क्षमता विकास सम्बन्धी शनिवार देखि नगरपालिकामा सुरु भएको दुई दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुरको सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधार योजना बनाएर काम गर्ने बताए ।
उनले भने,‘कोहलपुरलाई शिक्षामा नमुना बनाउन चाहान्छौं । शैक्षिक गुुणस्तर सुधारका निमित्त कसैको राजनीतिक दवाव अव स्विकार्य हुन सक्दैन् । राम्रो काम गर्दा गर्दै पनि कर्मचारीमाथि अनावश्यक दवाव दिने प्रवृत्ति देखिएको छ अव त्यसलाई निरुत्साहित गरिन्छ ।’ प्रमुख आर्चायले कर्मचारीहरुलाई भयरहित तरिकाले काम गर्ने वातावरण निर्माण गर्न आफु प्रतिबद्ध रहेको बताउँदै कसैको दवाव र प्रभाव स्विकार्य नहुने बताए ।
कार्यक्रममा बोल्दै शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले कोहलपुरको शैक्षिक गुणस्तर सुधारका लागि प्राज्ञिक नेतृत्व जरुरी रहेको बताए । प्रशासनिक नेतृत्वले शैक्षिक गुणस्तर सुधार सम्भव नभएकाले विद्यालयको नेतृत्वले विद्यालयलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको उनले बताए ।
आइतबार सम्म तालिममा कोहलपुरका सामुदायिक विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्षगरी करिव ७० जनाको सहभागिता रहेको छ ।
उनीहरुलाई नगरपालिकाका शिक्षा विज्ञ जितबहादुर शाहले प्रशिक्षण दिनेछन् । कार्यक्रममा विद्यालयका प्रअहरुले विद्यालयको गतिविधि र योजनाबारे जानकारी गराएका थिए । कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको तालिमको उद्घाटन कार्यक्रममा शिक्षा शाखा प्रमुख हमालले स्वागत मन्तव्य राखेका थिए । तालिममा उप–प्रमुख संगिता सुवेदी, प्रशासकिय अधिकृत टीकाराम ढकाल, वडाअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।
नगर उपप्रमुख छात्रावृत्ति वितरण
कोहलपुर नगरपालिकाले नगर उपप्रमुख छात्रावृत्ति वितरण गरेको छ । विएलई र एसइईमा उत्कृष्ट १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । सामुदायिक र संस्थागत विद्यालयका उत्कृष्ट विद्यार्थीलाई जनही साढे सात हजार नगद र प्रमाणपत्र प्रदान गरिएको शिक्षा शाखा अधिकृत रवि मिजारले जानकारी दिए।
एसइईतर्फ त्रिभुवन उच्च मावि विद्यानगरकी आयुशा वली र प्रशान्त बुढाथोकी संस्थागत तर्फ गोर्खा युनाइटेडका अनुज पौडेल, लक्ष्मी गुप्ता र अनुराग शाही यस्तै विएलई तर्फ कृष्ण मावि कौशिलानगरकी सदिक्षा अधिकारी, त्रिभुवन माविका अंकित पौडेल, ब्रिज इन्टरनेशनल स्कुलका सिम्रण थापा, पञ्चमुखि इंग्लिस मिडियम स्कुलका सुमित यादव र बागेश्वरी एकेडेमीका गोपाल जंग खत्रीलाई छात्रावृत्ति वितरण गरिएको हो ।
उत्कृष्ट विद्यार्थीलाई नगर प्रमुख पुर्ण प्रसाद आचार्य र नगर उपप्रमुख संगिता सुवेदीलगायतले नगद र प्रमाणपत्रले सम्मान गरेका थिए ।