प्रतिनिधि सभा उम्मेदवार शर्मा जेलमा
Saturday, November 5th, 2022, 8:04 pm
Kalpristha
बाँके जिल्ला अदालतले शर्मालाई छोरीको जन्मदर्ता किर्ते गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेशपछि सम्पर्कमा नआएकी शर्मा सांसदको रहरले उम्मेदवार बन्न आइपुग्दा कारागार पुगेकी हुन् ।
सरकारी कागजात किर्ते गरेको आरोपमा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवार बनेकी विद्या शर्मा जेल पुगेकी छिन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा शर्माले राष्ट्रिय जनमुक्ति पार्टीबाट उनले उम्मेदवारी दिएकी थिइन् । शर्मा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेवारी दिने एकमात्र महिला हुन् ।
चुनावी मैदानमा होमिएका बेला उनलाई बाँके प्रहरीले सरकारी कागजात किर्ते गरेको आरोपमा अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेपछि उनलाई जेल जानु परेको हो । अब उनी विरुद्ध लागेको मुद्दाको टुङ्गो नलागे सम्म शर्माले जेलबाट आफनो प्रचार– प्रसार गर्नेछिन् ।
आसन्न मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महिलाको उम्मेदवारी निकैं कम छ । प्रतिनिधि सभामा बाँकेबाट विद्या शर्माले क्षेत्र नम्बर २ र नेपाली कांग्रेस बिपी पार्टीबाट कुन्ति शर्माले क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएकी छन् । यस्तै प्रदेश सभामा क्षेत्र नम्बर १ (क)बाट कृष्णा केसी नमुना उम्मेदवार बनेकी छिन् ।
बाँकेमा महिला उम्मेदवारको संख्या निकै भएका बेला विद्या शर्माको उम्मेदवारीलाई निकैं महत्वका साथ हेरिएको थियो ।
असोज २३ गते नेपालगञ्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शर्माले उम्मेदवारी दर्ता गराएकी थिइन् ।
सरकारी कागजात किर्तेको कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश पाएकी शर्माले जेलभित्रबाटै चुनाव लड्नु पर्ने देखिएको छ । प्रहरीले अदालत हुँदै शर्मालाई कारागार पुर्याएको छ । बाँके कारागारामा महिलालाई बस्ने व्यवस्था नभएका कारण बर्दिया लग्नु परेको बताउँछन उनको तर्फबाट वकालत गरिरहेका अधिवक्ता विश्वजित तिवारी ।
बर्दिया कारागारका जेलर सन्तोष विकले प्रतिनिधि सभाकी उम्मेदवार शर्मालाई किर्ते कागजात गरेको आरोपमा बर्दिया कारागार ल्याएको बताए ।
बाँके जिल्ला अदालतले शर्मालाई छोरीको जन्मदर्ता किर्ते गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेशपछि सम्पर्कमा नआएकी शर्मा सांसदको रहरले उम्मेदवार बन्न आइपुग्दा कारागार पुगेकी हुन् । शर्माको घर नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ मा पर्छ । उनको माइती वडा म्बर १६ मा रहेको छ । शर्माले छोरीको जन्मदर्ता वडा नम्बर १६ बाट बनाएकी छन् ।
छोरीको नयाँ जन्मदर्तामा उमेर घटाएको पाइएको बाँके प्रहरीको भनाई छ । सूचकले भरेको अनुसूचिका आधारमा अधिकारीहरुले जन्मदर्ता गराइदिने गर्दछन् । यस्तोमा ‘गल्ती’ भेटिएमा सूचकलाई कारबाही हुन्छ । मिलोमतोमा भएमा पाइएमा जारी गर्ने अधिकारी तानिन्छन् ।
एकथरीले सानी छोरीको जन्मदर्तामा आफैले ‘केरमेट’ गरेर ठूली छोरीको नाम लेखेको उल्लेख गरेका छन् ।
शर्माको तर्फबाट अधिवक्त विश्वजित तिवारी, लोक बहादुर शाह लगायतले वकालत गर्दैछन् ।
निर्वाचन कार्यालय बाँकेका अनुसार अदालतबाट दोषि भएको प्रमाणित नभएसम्म शर्माको उम्मेदवारी कायम रहन्छ । तर आरोप प्रमाणित भए कानुनी सजायको भागीदार बन्नु पर्ने हुन्छ । शर्माको मुद्दा अहिले उच्च अदालतमा पुगेको छ । जिल्लाको थुनछेकको आदेश बदर गरी पाउँ भन्दै उच्च अदालतमा मुद्दा हालिएको छ ।
उच्चमा पुगेको यस्तो मुद्दालाई ७३ नम्बरको मुद्दा भन्ने गरिन्छ । यस्तो मुद्दा हप्तामा एकपटक बिहीबारमात्रै बहस हुने गर्दछ । कात्तिक २४ गते र मंसीर १ गते बिहीबार परेको छ । यो दुई दिनमा शर्माको मुद्दाको टुंगो के हुन्छ हेर्न बाँकी छ । सफाई पाएमा बाहिर निस्केर चुनाव लड्ने अवस्था हुन्छ भने टुंगोमा नलागेमा जेलभित्रबाटै चुनाव लड्नु पर्छ । यदी दोषी ठहर भएमा उम्मेदवारी रद्द हुनका साथैं सात वर्षसम्म कैद सजाय भोग्नु पर्ने कानुनी व्यवस्था रहेको छ ।