दुर्व्यवहार र आक्रमणका घटनाप्रति प्रेस युनियनको ध्यानाकर्षण
Monday, November 7th, 2022, 3:17 pm
Kalpristha
नेपालगन्ज : पछिल्लो चरणमा सञ्चारकर्मीमाथि भइरहेका दुर्व्यवहार र आक्रमणका घटनाप्रति नेपाल प्रेस युनियन बाँकेले ध्यानाकर्षण भएको जनाएको छ । युनियन बाँकेका सचिव विजय मल्लले एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।
कोहलपुरस्थित साहारा टिभी खबरमा कार्यरत सञ्चारकर्मी नविन परियार र बसन्ती हमालमाथी शनिबार दुर्व्यवहार भएको घटना सेलाउन नपाउँदै आईतबार बेलुका पुनः सोही सञ्चार संस्थामा कार्यरत सञ्चारकर्मी हिमान्सु शाहीमाथि पनि युवाको एक समुहले सांघातिक आक्रमण गरेको घटना सार्वजनिक भएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘यसअघि नेपालगन्जका सञ्चारकर्मी अभिनव गुप्तामाथि तस्करको समुहले अपहरण शैलीमा आक्रमण गरेको घटना सार्वजनिक भएको थियो, पछिल्लो चरणमा बढिरहेका यस्ता घटनाबाट नेपाल प्रेस युनियन बाँके स्तब्ध भएको छ, यि सबै घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथी कारबाही गर्न युनियन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’
साथै यस्ता घटना पुनरावृत्ति हुन नदिनतर्फ सम्बन्धित निकायले विशेष पहल गरोस् भन्ने माग युनियनले गरेको छ ।