रामदेवको कम्पनीले उत्पादन गर्ने पाँचवटा औषधिमाथि प्रतिबन्ध
Friday, November 11th, 2022, 5:32 pm
Kalpristha
भारतको उत्तराखण्ड सरकारले बाबा रामदेवको कम्पनीद्वारा उत्पादित औषधिमा प्रतिबन्ध लगाएको छ ।
उत्तराखण्डको अथोरिटी अफ आयुर्वेदिक एन्ड युनानी सर्भिसेसले पतंजलीको औषधि बनाउने दिव्य फार्मेसीको पाँचवटा औषधि उत्पादन रोक्न आदेश दिएको हो ।
फार्मेसीबाट उत्पादित हुने दिव्य मधुग्रिट, दिव्य आइग्रिट गोल्ड, दिव्य थाइरोग्रिट, दिव्य बिपिग्रिट र दिव्य लिपिडोमको उत्पादनमा रोक लगाउन निर्देशन दिइएको हो ।
संचारमाध्यममा ती औषधिबारे ’भ्रामक विज्ञापन’ दिएको आरोप लागेपछि यो कारवाही गरिएको हो ।
सो संस्थाले विज्ञापन फिर्ता लिन पनि निर्देशन दिएको छ । कारवाहीमा परेको फार्मेसीले पटक पटक ‘ड्रग्स एन्ड म्याजिक रेमेडिज एक्ट’ उल्लंघन गरेको पाइएको छ ।
यी औषधिको प्रयोग आँखाको इन्फेक्सन, मधुमेह, थाइरोइडको उपचार र कलेस्ट्रोल नियन्त्रणका लागि प्रयोग भइरहेको थियो।
यी पाँचवटा औषधिको ‘फार्मुलेसन सिट’ समीक्षा हुने र रिपोर्ट नआएसम्म उत्पादनमा रोक लगाइएको सर्भिसेसले जनाएको छ ।
पतंजलीले भने आफ्नो उत्पादनहरु सबै मापदण्ड पूरा गरेर उत्पादन भइरहेको दाबी गरेको छ ।