बाघ संरक्षण अभियानले विश्वभर चिनिदै बर्दियाका भदै
Sunday, December 11th, 2022, 6:00 am
Kalpristha
बाघ संरक्षणको अभियानमा भदै नेपालमा मात्र नभएर विश्वमै उदाहरणीय पात्रका रुपमा परिचित छन् । संरक्षण अभियानमा उनले गरेको योगदानलाई विश्वभरबाट प्रशसा गरिएको छ । जसले भदैलाई बाघ संरक्षण अभियानको क्षेत्रमा विश्वले चिन्ने गरेको छ ।

भदै थारु
लक्ष्मी तिमिल्सेना
नेपालगंज, २४ मंसिर
बर्दियाका भदै थारु सामान्य परिवारमा जन्मिएका व्यक्ति हुन् । गाउँघरमा खेतीकिसानी गरेरै उनको दैनिक चलेको थियो । घर नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्जको एउटा घटनाले उनको जीवनको मोड नै परिवर्तन गरिदियो । निकुञ्जमा खर काट्न गएका बेला उनलाई बाघले आक्रमण ग-यो । हिम्मतवाला भदै बाघसँगको युद्ध जित्न सफल भए र उनको नयाँ नाम परिचय बन्यो बाघलाई जित्न सक्ने व्यक्ति ।
आक्रमणका केहि दिन सम्म त उनलाई बाघ भन्ने बित्तिकै रिस उठने गरेको सम्झन्छन । अस्पतालको शैयामा भएका बेला पनि कति बेला घर गएर बाघलाई मारु जस्तो लाग्ने गरेको भदैले कालपृष्ठ दैनिकलाई बताए । तर अहिले तिनै भदै बाघ संरक्षणको अभियन्ता रुपमा चिनिन्छन् ।
बर्दिया मधुवन नगरपालिका–३ फाँटा निवासी भदै बाघलाई वनको विश्व सुन्दरी र वन्यजन्तुलाई तिनका गहना भएको बताउँछन् ।
‘वन्यजन्तु विनाको वन र वन विनाको संसार घरविनाको मान्छे जस्तै हो’ भन्छन् उनी । प्रकृति संरक्षणमा लागेका ५५ बर्षका भदै थारुको संरक्षण यात्रा लामो छ । उनी बाघसँग लडेर बाँचेका व्यक्तिका रुपमा बाँके र देशभरि मात्रै होईन विश्वभरि नै परिचित छन् ।
‘विक्रम संवत् २०६० सालमा निकुन्जमा खडखडाइ खुलेको थियो । म पनि घाँस लिन निकुन्जभित्रको वन पसेको थिएँ । हामी घाँसेमैदानमा थियौँ । बाघ नजिक रहेछ भन्ने थाहा भएन । एक्कासि बाघले आक्रमण ग¥यो । बाघको पञ्जा मेरो आँखामा लाग्यो । ज्यान जोगाउन मैले पनि सक्नेजति गरेँ । केही समयको घम्साघम्सीपछि मलाई बाघले छाड्यो । मेरो बायाँ आँखा बाघले लगिदियो ।’ – उनले आफ्नो र बाघको लडाँइ सम्झे ।
बाघसँगको जम्काभेट र गुमेको आँखा सम्झेर उनलाई सुरुसुरुमा त्यसप्रति शत्रुताको भाव नआएको भने होईन । बाघ प्रतिको शत्रुता कै कारण उनी उपचारकै क्रममा अस्पतालमा हुँदा उनको स्वास्थ्य अवस्थाबारे सोधखोज गर्न आउने मानिसहरुसंग समेत उनी रिसाउथे । कसैसँग भेट्न मान्दैनथे । उनलाई एउटै कुराले मात्र बेचैन बनाँउथ्यो । कहिले यो अस्पतालबाट निस्कुँला र त्यो बाघलाई पासो थापेर मारौंला भन्ने ।
उनी सम्झन्छन्– ‘अस्पतालमा बस्दा मलाई एउटै कुराले सताँउथ्यो । मैले त्यसको के विगारेको थिए । समय वित्दै गयो । मैले पनि बाघको बारेमा अलि फरक धारणा बनाउदै गएँ । मार्ने नै भए त मलाई किन जिउँदो राख्थ्यो होला र ? भन्ने लाग्न थाल्यो । आक्रमणमा परिसकेपछि बाघलाई घृणा गर्न थालेको म मा फेरी उ प्रति माया पलाउन थाल्यो र म बाघ संरक्षणमा लागें ।’
मधुवन नगरपालिकामा पर्ने खाता जैविक मार्गमा बाघ, गैँडा, जंगली हात्तीलगायत २७ स्तनधारी प्रजाति पाइन्छन् । यसले नेपालको बर्दिया राष्ट्रिय निकुन्ज र भारतको कतरनियाघाट वन्यजन्तु आरक्षलाई जोड्छ । भारतको बनसँग जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जका बाघ, गैंडा हात्ती लगायतका ठुला देखी स–साना जनावर पनि ओहोर–दोहोर गर्ने गर्छन् । भदैले भने उनीहरु माया–प्रेम साट्न ओहोर–दोहोर गर्ने गरेको बताउँदै आएका छन् । गीतसंगीतमा पनि रुचि राख्ने उनी मानिसको भन्दा पनि वन्यजन्तुको प्रेमका कुराहरु शब्दमा उतार्छन् ।
ईन्डियाको बघिनि नेपालमा
समुदायमा संरक्षणका कुरा गर्न जाँदा उनी गीत मार्फत संरक्षणका सन्देश दिने गर्छन् । उनलाई भाषणबाट भन्दा पनि गितसंगित र साहित्य मार्फत समुदायमा छिटो र सजिलो गरि सन्देश दिन सकिन्छ जस्तो लाग्छ ।
संरक्षण अभियान्ता भदै थारुले २०६१ सालमा ५० हजार रकम बराबरको अव्राहम कन्जरभेसन अवार्ड प्राप्त गरे । उनलाई यो पुरस्कारले प्रकृति संरक्षणमा लाग्न अझ प्रेरित ग-यो । बर्दियामा बाघ संग युद्ध गरेर बाँचेको मान्छे पनि छ, भन्ने सुनेर विश्व चर्चित चलचित्र ‘टाईटानिक’का हिरो हलिउड अभिनेता लियोनार्डो समेत भेट्न आईपुगे । हलिउड अभिनेता उनीबाट यति प्रभावित भएकि फर्कने बेला उनले आफ्नो चस्मा नै उनलाई उपहार स्वरुप दिएर गए । हलिउड अभिनेतासँगको भेट भदैको जीवनकै अविस्मरणीय घटना हो ।
सास रहुन्जेल संरक्षणमा लाग्ने बताउदै आएको भदै थारुलाई प्रकृति र वन्यजन्तु संरक्षको कुरालाई कसरी हस्तान्तरण गर्ने भन्ने पिर छ । ‘अहिलेको युवा पुस्ता पैसा र पावरको पछि छ । सबैलाई विदेश जान र पैसा कमाउन परेको छ । स्थानिय स्तरमा आय आर्जन गर्नसक्ने वातावरण छैन । हरेक युवाले आफ्नो भविष्य सुनिश्चित गर्न खोजिरहेको छ । र त्यसो गर्नुपनि पर्छ । तर, यि सबै कुरा गरिरहँदा वन तथा वन्यजन्तु हाम्रा साझा सम्पति हुन् । यसको संरक्षण पनि हाम्रै दायित्व हो भन्ने कुरा विर्सनु हँदैन ।’
उनले भने, ‘स्थानिय, प्रदेश र संघिय सरकारले यहि बसेर काम गर्न चाहने युवा जमातका लागि केहि योजना र कार्यक्रम लागु गर्न अति जरुरी छ । चाहे त्यो कृषि क्षेत्रमा होस चाहे औद्योगिक क्षेत्रमा होस, व्यापार व्यावसायमा होस वा सिपमुलक कार्यक्रम तर्फ होस । जसले गर्दा हाम्रा सन्तानहरुले पनि आफ्नै घरमा बसेर जिविकोपार्जन पनि गर्न सकुन र प्रकृति संरक्षणमा पनि योगदान दिन सकुन् । बाघ संरक्षणको अभियानमा भदै नेपालमा मात्र नभएर विश्वमै उदाहरणीय पात्रका रुपमा परिचित छन् । संरक्षण अभियानमा उनले गरेको योगदानलाई विश्वभरबाट प्रशसा गरिएको छ । जसले भदैलाई बाघ संरक्षण अभियानको क्षेत्रमा विश्वले चिन्ने गरेको छ ।
बर्दिया राष्ट्रिय निकुन्जमा हुने चोरी शिकारी नियन्त्रणका लागि ‘चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान’ सन्चालित छ । यो अभियानमा लागेका युवा जमातहरुको प्रेरणाका लागि भदै थारुजस्ता संरक्षणकर्मिहरुको ठुलो योगदान रहेको निकुन्जका संरक्षण अधिकृत बद्री विनोद दाहालले कालपृष्ठ दैनिकलाई बताए । उनले भने,‘भदैका कारण राष्ट्रिय निकुञ्ज छेउछाउँमा रहेका मानिसहरु पनि संरक्षण प्रति जागरुक हुँदै गएका छन् । पहिले त्यही समुदाय जिवजन्तुलाई मार्नका लागि पासो थाप्ने गरेका थिए । तर अहिले उनीहरुनै संरक्षणमा अग्रसर हुनु निकुञ्ज संरक्षणका लागि महत्वपुर्ण कुरा हो ।