धान खरिद प्रक्रिया सुरु गर्न दबाब दिदैं बाँकेका किसान
Sunday, December 11th, 2022, 8:55 pm
Kalpristha
बाँकेका किसानहरुले सरकारले धान खरिद प्रक्रिया सुरु गर्न ढिलाई गरिरहेको गुनासो गरिरहेको बेला किसानका अगुवा नेताहरुले राज्यलाई देशव्यापी रुपमा दबाब दिन सुरु गरेका छन् ।
कालपृष्ठ समाचारदाता
बाँके, २५ मंसिर
किसानले उत्पादन गरेको धान तत्काल खरिद गर्न बाँकेका किसानहरुले दबाब दिएका छन् । बाँकेका किसानहरुले सरकारले धान खरिद प्रक्रिया सुरु गर्न ढिलाई गरिरहेको गुनासो गरिरहेको बेला किसानका अगुवा नेताहरुले राज्यलाई देशव्यापी रुपमा दबाब दिन सुरु गरेका छन् । जसअन्तर्गत बाँकेमा पनि आइतबार ज्ञापनपत्र बुझाइएको छ ।
नेपाल किसान संघ बाँके र अखिल नेपाल किसान महासंघ बाँकेले संयुक्त रुपमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्ज शाखालाई ज्ञापन पत्र बुझाउँदै किसानले भोग्नु परेको समस्याका बारेमा अवगत गराएका छन् ।
सरकारले धान खरिद गर्ने प्रक्रिया ढिला गरी सुरु गर्दा किसानले सस्तो मुल्यमा व्यापारीहरुलाई बिक्री गर्नु पर्ने बाध्यता रहेको भन्दैं तत्काल धान खरिद प्रक्रिया सुरु गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

…………
नेपाल किसान संघ केन्द्रिय सदस्य धनमाया लुइटेल रिचा, अखिल नेपाल किसान महासंघ बाँके अध्यक्ष कृष्ण विक्रम केसीको नेतृत्वमा बाँकेका अगुवा किसानहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्ज शाखा प्रमुख रामसरण लामिछानेलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाए ।
नेपाल सरकारले कात्तिक १६ गते बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९–८० को लागि समर्थन मुल्य तोकेको थियो । सरकारले यसवर्ष मोटा धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ न्युनतम समर्थन मुल्य तोकेको छ । तर मंसिर महिनाको अन्त्य सम्म पनि सरकारले धान खरिद गर्ने प्रक्रियामा ढिलाई गरेको भन्दैं तत्काल धान प्रक्रिया अगाढी बढाउन किसान सम्बन्द्ध संघले दबाब दिएका छन् ।
आइतबार ज्ञापनपत्र बुझाउने कार्यक्रममा लुम्बिनी प्रदेश कृषि, सहकारी मन्त्री आरती पौडेलको उपस्थिती रहेको थियो ।
नेपाल किसान संघकी केन्द्रिय सदस्य लुइटेलले किसानको साझा समस्याका बारेमा सबैले आवाज उठाउनु पर्ने बताईन् । उनले भनिन, ‘नीतिगत रुपमा समस्या छन् । त्यसको समाधानका लागि हामीले सम्बन्धित निकायलाई दबाब दिन जरुरी छ । किसानको धान घरमै थन्किरहेका छन् । सहि मुल्य नपाउँदा किसान मर्कामा छन् । यसका लागि सरकारले जतिसक्दो उचित मुल्य दिएर धान खरिद गर्ने क्षमतामा पनि वृद्धि गर्नु पर्ने अवस्था छ ।’
ढिलै भएपनि सरकारले धानको समर्थन मुल्य यसपटक छिटै तोकेपनि खरिद प्रक्रिया ढिला हुँदा किसानलाई मर्का परेको पौडेलले बताईन । उनले भनिन, ‘सरकारले समर्थन मुल्य त तोक्यो तर खरिद गर्न भने ढिला गरिरहेको छ । यसले गर्दा किसानले बाध्य भएर व्यापारीलाई धान बिक्री गरिरहेका छन् । नितिगत रुपमा यो समस्या छ । सरकारले धान खरिद गर्ने कति हो । त्यो रकम सरकारले पहिले नै छुटयाईदिएपछि समस्या हुदैन ।’
किसानले उत्पादन गरेको भन्दा निकै कम धान सरकारले खरिद गर्दा पनि समस्या भैरहेको उनले बताईन् ।
अखिल नेपाल किसान महासंघ बाँके अध्यक्ष केसीले किसानले हरेक वर्ष धान खरिद गरिदिनु परयो भनेर दबाब दिनुपर्ने बाध्यता रहेको बताए ।
उनले भने,‘दुःख लाग्छ सधै हामीले यसरी भन्नु पर्छ । सरकारले एउटा मुल्य तोक्छ । तर किसानले खेतबाटै धान बिक्री गर्नु पर्ने बाध्यता छ । सरकारले कात्तिकबाट धान खरिद गरिदिए किसानलाई राहत हुन्छ । दशैतिहारको बेला किसानलाई आर्थिक समस्या हुन्छ । अनि उनीहरुले सस्तो मुल्यमा व्यापारीलाई बिक्री गर्छन । सरकारले खरिद कार्य छिटो गर्नु पर्छ ।’
किसानहरुको ज्ञापन पत्र बुझेपछि नेपालगन्ज शाखाका प्रमुख लामिछानेले केन्द्रबाट आइतबार नै धान खरिद प्रक्रिया सुरु गर्नका लागि निर्देशन आएको बताए । केहि दिनमै बाँकेमा खाद्यले धान खरिद गर्ने प्रक्रिया सुरु गर्ने उनले बताए ।
उनले भने,‘प्रमुख जिल्ला अधिकारी सहितको टिमको बैठकले धान खरिद गर्ने बारेमा निर्णय गर्नु पर्छ । म आजै सिडियो सरसँग यसबारेमा छलफल गर्न जादैछु । अब जतिसक्दो प्रक्रिया पुरा गरेर हामी धान खरिद कार्य सुरु गछौं ।’
बाँकेमा यस वर्ष खाद्यले मोटा धान २५ हजार क्विन्टल र मध्यम धान २० हजार क्विन्टल खरिद गर्ने निर्णय गरेको छ । जुन बाँकेमा किसानले उत्पादन गर्ने धानको ५ प्रतिसत भन्दा पनि कम हुन आउँछ ।
बाँकेमा करिब १ लाख मेट्रिक टन धान उत्पादन हुने गरेपनि सरकारले निकै कम धान खरिद गर्दा पनि समस्या भैरहेको लामिछानेले कालपृष्ठ दैनिकलाई बताए । उनले भने,‘सरकारले किसानले उत्पादन गरेजित धान खरिद गर्न सकेको छैन । यसमा केन्द्रबाटै निर्णय हुनु पर्छ । अर्को समस्या भनेको सरकारले खाद्यलाई तिनु पर्ने रकम पनि नदिएका कारण अप्ठयारो भैरहेको छ ।’