सन्तोषीले प्राप्त गरिन् संस्कृति स्पोर्टस सम्मान
Sunday, December 18th, 2022, 5:45 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ३ पुष
संस्कृति इन्टरनेसनल स्कुलले ‘संस्कृति स्पोर्टस सम्मान’ नामक वार्षिक स्पोर्टस अवार्ड स्थापना गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार प्रदान गरिने स्कुलले जनाएको छ ।
स्कुलको वार्षिक स्पोर्टस डेको अवसरमा सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा आयोजित एक कार्यक्रममा स्कुलका अध्यक्ष रञ्जित आचार्यले अन्य बोर्ड डिरेक्टर्स, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देबेन्द्र नाथ सुवेदी, राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का लगायतको उपस्थितिमा सम्मान गरिएको थियो ।
यस वर्षको ‘संस्कृति स्पोर्टस सम्मान’ सुश्री सन्तोषी श्रेष्ठलाई प्रदान गरिएको छ । सन्तोषीले सन् २०२२ मा खेल जगतमा उत्कृष्ट प्रदर्शन गर्दै लामो दुरीको दौडतर्फ नेपाललाई अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउन सफल भएकी थिइन् । उनको छनौट सो अवार्डका प्राविधिक साझेदार संस्था नेपाल राष्ट्रिय खेलकुद पत्रकार मञ्चका जुरी सदस्यहरुले गरेका थिए । श्रेष्ठ जनस्वास्थ्यको विद्यार्थी हुन् र उनी जनस्वास्थ्य सम्बन्धी अनुसन्धानमा काम गर्दै आएकी छिन् । उनले सार्वजनिक प्रशासन र पब्लिक हेल्थ न्युट्रिसनमा पनि थुप्रै डिग्रीहरु हासिल गरेकी छिन् ।
संस्कृति इन्टरनेसनल स्कुलका अध्यक्ष श्री रञ्जित आचार्य र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुबेदीको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काले सन्तोषी श्रेष्ठलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।
संस्कृति इन्टरनेसनल स्कुलका डिरेक्टर पशुपती मुरारकाले श्रेष्ठलाई एक लाख एक हजार बराबरको चेक पनि हस्तान्तरण गरे ।
त्यसैगरी सोही कार्यक्रममा व्यावसायिक तालिम लिन नसक्ने देशभर रहेका १९ वर्षमुनिका खेलाडीहरू मध्ये १ जना योग्य क्रिकेटरलाई रू ५०,०००÷– को ट्रेनिङ स्कलरशिप प्रदान गर्ने घोषणा गरिएको छ । स्कलरशिप विजेतालाई पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरबाट तालिम प्रदान गरिने भएको छ । यस वर्षको स्कलरशिप विजेता डडेलधुरा–४ का प्रतिभाशाली क्रिकेट खेलाडी कृष्ण भट्ट बनेका छन् ।
संस्कृति इन्टरनेसनल स्कुलका अध्यक्ष रञ्जित आचार्यले संस्कृति इन्टरनेसनल स्कुलले विद्यार्थीहरुको पढाईमा मात्र नभएर उनीहरुको र समाजकै समग्र विकासमा जोड दिइरहेको बताए । उनले भने, ‘यस संस्कृति स्पोर्टस सम्मान अवार्डको स्थापनाले हाम्रा राष्ट्रिय प्रतिभाहरुलाई हौसला प्रदान गर्नुका साथै हाम्रा विद्यार्थीहरुलाई पनि एउटा समानुभुतीपूर्ण समाजको निर्माणमा योगदान गर्न प्रेरित गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ । यस वर्षको विजेता सन्तोषी श्रेष्ठलाई हार्दिक बधाई ज्ञापन गर्दै वहाँँको उत्तरोत्तर प्रगतीको लागि हार्दिक शुभकामना प्रदान गर्दछौँ । साथै ट्रेनिङ स्कलरशिप विजेता कृष्ण भट्टलाई निकट भविष्यमा राष्ट्रिय क्रिकेट टोलीमा आबद्ध हुन शुभकामना सहित बधाई छ ।’
पुर्व कप्तान पारस खड्काले संस्कृति इन्टरनेसनल स्कुलले जुन ट्रेनिङ स्कलरशिपको शुरुवात गरेको छ त्यसले वास्तवमै नेपालका उदीयमान क्रिकेटरहरुलाई हौसला र प्रोत्साहन प्रदान गरेको बताए । यसले असल र वास्तविक प्रतिभाहरुलाई सहयोग प्रदान गर्ने उनले बताए ।
सन्तोषी श्रेष्ठ एथलेटिक्समा अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने नेपालकी पहिलो महिला खेलाडी हुन् । पेशाले जनस्वास्थ्य अधिकृत उनी एक राष्ट्रिय खेलाडी हुनुका साथै सार्वजनिक प्रशासन र पब्लिक हेल्थ न्युट्रिसनमा पनि थुप्रै डिग्रीहरु हासिल गरेकी छिन् ।
उनले २०७९ को नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १०००० र ५००० मिटर दौडमा, २०७९ को ४४औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको १५०० र ३००० मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् भने २०७९ को आठौँ नेपालगञ्ज म्याराथनमा पनि कोर्स रेकर्ड सहित विजेता बन्न सफल भएकी थिइन् ।
सन्तोषी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा राष्ट्रिय खेलकुद पत्रकार मञ्चद्वारा विशेष पुरस्कार, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा एथलेटिक्स २०७६ को उत्कृष्ट खेलाडी र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट पनि सम्मानित भएकी छिन् ।