अम्बिका र अनुराग लुम्विनीका कान्छा सांसद
Monday, December 19th, 2022, 9:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ पुष
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अम्बिका काफ्ले सबैभन्दा कम उमेरकी महिला सांसद बनेकी छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित काफ्ले २८ वर्षकी हुन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रदेशसभा सदस्यतर्फको समानुपातिक प्रणालीतर्फ निर्वाचित ३५ जना सांसदमध्ये काफ्लेको उमेर सबैभन्दा कम छ । । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १३ बाँकेकी काफ्ले खसआर्य समूहबाट सांसद निर्वाचित भएकी हुन् ।
यस्तै सबैभन्दा कम उमेरका पुरुष सांसदमा भने नेपाली कांग्रेसबाट दाङ प्रदेशसभा क्षेत्र नम्बर १(२) मा प्रत्यक्ष निर्वाचित अनुराग खड्का रहेका छन् । प्रत्यक्ष निर्वाचितमा खड्का सबैभन्दा कम उमेरका हुन् । उनको उमेरपनि २८ बर्ष हो ।
बाँकेबाट १३ जना महिला सांसद
बाँके जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरेर १३ जना महिलाहरू निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ प्रदेशसभामा एक जना महिला निर्वाचित भएकीहुन् भने समानुपातिकबाट १२ जना महिलाले सङ्घीय र प्रदेश सांसद बन्ने अवसर पाएका छन् ।
बाँकेबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णा केसी नमुना विजयी हुने एक मात्र महिला हुन् । अन्य आठ सिटमा विजयी हुने सबै पुरुष उम्मेदवार हुन् । माओवादीकी केसी यस पटक सोही सिटबाट दोहोरिएकी हुन् ।
प्रत्यक्षतर्फबाट एक जना मात्र महिला विजयी भएपनि समानुपातिकबाट विभिन्न दलले १२ जना महिलालाई प्रतिनिधिसभा र प्रदेशसभामा पठाएका छन् । समानुपातिकबाट तीन जना महिला प्रतिनिधिसभामा चुनिएका छन् । नौ जना महिला सांसदले समानुपातिक कोटा बाट प्रदेशसभामा सांसदका रुपमा प्रवेश पाएका छन् ।
समानुपातिकबाट प्रतिनिधिसभामा चुनिनु हुने उम्मेदवारमा नेपाली काँग्रेसको तर्फबाट आशा विक, नेकपा (एमाले)बाट दीपा शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लक्ष्मी तिवारी रहेका छन् ।
यसै गरी लुम्बिनी प्रदेशसभाका लागि विभिन्न दलहरूबाट प्रदेश संसदमा प्रवेश पाएका नौ जना महिला सांसदमा नेपाली काँग्रेसबाट चार जना, एमालेबाट दुई जना, जसपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट एक– एक जना छन् ।
नेपाली काँग्रेसबाट माया पुन, सन्जुकुमारी चौधरी, सुशीला वादी र मीना सिद्धिकी प्रदेश सभा सांसद भएकी छन् । वसन्ती न्यौपाने र सायरा बानोले पनि एमालेको समानुपातिक कोटाबाट प्रदेशसभामा प्रवेश पाएका हुन् ।
यसैगरि जनता समाजवादी पार्टीबाट अम्बिका काफ्ले, राप्रपाबाट मिना श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीबाट नोरीकुमारी चौधरीले प्रदेशसभामा प्रवेश पाएकी छन् । बाँके जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरेर प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीबाट २१ जना सांसदहरू निर्वाचित भएर संसदमा प्रवेश गरेका छन् ।