सिँचाइका लागि विद्युत विस्तार आवश्यक : अध्यक्ष शाह
Saturday, December 24th, 2022, 7:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नरैनापुर, ९ पुष
बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगंजका प्रमुख सुरज गौतम सहितको प्राविधिक टोली विद्युत नपुगेको नरैनापुरका बस्तीहरुको अनुगमन गरी फर्किएको छ ।
सो अवसरमा नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरको बनियाँ गाँउमा हाल सम्म बिजुली नपुगेकोले तत्काल विद्युत पुर्याउन प्राधिकरणका प्रमुख गौतम संग आग्रह गर्दै नरैनापुर थप विद्युत विस्तारका लागि १५ सय पोल र उक्त पोलमा लाग्ने तारको व्यवस्था गरी नरैनापुरलाई उज्यालो बनाउनमा साथ दिन अनुरोध गरे ।
नरैनापुर गाउँपालिका अध्यक्ष शाहले विद्युत् सेवा पुग्नु आफ्नो र नरैनापुरवासीका लागि ठूलो खुसीको कुरा भएको बताउदै वर्षौदेखिको नरैनापुरबासीको बिजुली बाल्ने सपना पूरा भए पनि अब सिँचाइका लागि विद्युत विस्तार गर्न जरुरी रहेको बताएका थिए ।
प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमूना’ले जुन गाँउमा विजुली पुगेको छैन त्यो गाँउमा ६ महिना भित्रै बत्ती बाल्ने प्रतिबद्धता गर्दै अबको विकास नरैनापुरबाट सुरु हुने बताईन् ।
यस्तै विद्युत प्राधिकरणका प्रमुख गौतले नरैनापुर ६० प्रतिशत विद्युत विस्तार भई सकेकोले बाँकी रहेको काम सक्दो छिटो सम्पन्न गर्ने बताएका थिए ।
शुक्रबार नरैनापुर गाँउपालिकाका अध्यक्ष शाह संगै प्रदेश सभा सदस्य नमूना, विद्युतका प्रमुख गौतमले वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, ६ का अध्यक्ष प्रेम मौर्य र स्थानीय नागरिकहरु संग भेट गरी विद्युतको समस्याका विषयमा छलफल गरेका थिए ।