‘ऋण असुली गर्दा सार्बजनिक बेइज्जती र मानसिक असर पर्ने गतिविधि नगर’
Sunday, December 25th, 2022, 10:06 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० पुष
ऋण असुली गर्दा ऋणीको सार्बजनिक बेइज्जती र मानसिक असर पर्ने गतिविधि नगर्न उच्च अदालत तुलसीपुर,नेपालगन्ज इजलासले अन्तरिम आदेश दिएको छ ।
नेपालगन्जमा व्यवसाय गर्ने रेखा खड्काले एनआईसी बैंक विरुद्ध दायर गरेको रिटमा पुस ८ गते अन्तरिम आदेश सुनाउदै न्यायाधीश बामदेव ज्ञवालीको एकल इजलासले निवेदक ऋणी र उनको परिवारलाई मानसिक असर पर्ने गरि घरमा सुरक्षार्थ गार्ड राख्ने कार्य नगर्न नगराउन अन्तरिम आदेश सुनाएको हो ।
ऋण असुली गर्दा सम्बन्धि व्यक्तिको सामाजिक र मानसिक असर पर्ने काम नगर्न अन्तरिम आदेश दिए पनि अदालतले बैंकबाट लिएको कर्जा कारोबार कानुन बमोजिम हुने उल्लेख गरेको छ ।
व्यवसायमा आबद्ध खड्काको घर तथा पसलमा एनआईसी बैंकले कर्मचारी र गार्ड खटाएको थियो । यस्तो गर्नुको कारण बारे बैंकले कुनै पनि बिषय सार्बजनिक गरेको छैन । बैंकले सताएको भन्दै खड्का अदालसम्म पुगिन ।
उक्त रिट माथि बहस गरेका अधिवक्ता लोकबहादुर शाहले ऋण असुल गर्ने बैंकको नयाँ तरिका ल्याएको बताए । घर पसलमा सुरक्षा गार्ड राखी मानसिक र सामाजिक दबाब दिनु गैरकानुनी र अमानवीय कदम भएको बताए ।