बाँकेका दुई स्थानिय तहको छाडा चौपाया ब्यवस्थापन प्रयास
Sunday, December 25th, 2022, 8:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, १० पुष
छाडा पशुचौपाया ब्यवस्थापनका लागि नेपालगन्ज उप-महानगरपालिका र राप्तीसोनारी गाउँपालिका समन्वय र सहकार्य गरेर अगाडि बढ्ने भएका छन् ।
अव्यवस्थित छाडा पशुचौपायालाई कसरी ब्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा दुई पालिकाबीच समन्वय र सहकार्य गरेर अगाडि बढ्ने विषयमा छ्लफल सुरु भएको नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले बताए ।
‘नेपालगन्ज क्षेत्रका छाडा पशुचौपायाको दीर्घकालीन ब्यवस्थापन र संरक्षणका लागि राप्तीसोनारी गाउँपालिकासँग सहकार्य गर्न आवश्यक ठानेका छौं, सोही अनुरुप सहकार्यको मोडेलमा अघि बढ्ने गरी हामीले छलफल थालेका छौं ।’ बिष्टले भने । ‘यहाँ (राप्तीसोनारी) जंगल पनि प्रशस्त भएकाले आहारको समस्या पनि कम होला, संरक्षणमा पनि सहज हुन्छ भन्ने हाम्रो विश्वास हो ।’

………….
छाडा पशुचौपायाका कारण नेपालगन्ज नगरमा सवारी दुर्घटना तथा ग्रामीण क्षेत्रमा किसानको बालीनालीमा नोक्सानी पुग्दै आएको छ । नेपालगन्ज उप-महानगरपालिकाले काञ्जीहाउस पनि संचालन गरेको छ । तर, काञ्जीहाउसमा राखिएका छाडा पशुचौपायालाई खुवाउने आहाराको भने बेलाबेलामा अभाव हुने गरेको छ ।
राप्तीसोनारी गाउँपालिकाले पनि छाडा पशुचौपाया समस्याको रुपमा रहेको बताएको छ । गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले नेपालगन्ज जस्तै राप्तीसोनारीमा पनि छाडा पशुचौपायाको समस्या रहेकाले यो समस्याको हल दुबै पालिका मिलेर गर्नुपर्ने बताए । उनले राप्तीसोनारीमा ५ वटा काञ्जीहाउस संचालनमा रहेको पनि जानकारी दिए ।
नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख बिष्टको नेतृत्वमा वडा अध्यक्षहरु गोपाल पुन, गोबिन्द रेग्मी, तरुण बज्राचार्य, कार्यपालिका सदस्य बसन्त कनौजिया, नगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी लगायत कर्मचारीको टोली आईतबार राप्तीसोनारी पुगेको थियो ।

…………