खजुरामा पनि दादुराका बिरामी
Sunday, January 8th, 2023, 9:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज,२४ पुष
बाँकेको खजुरामा पनि दादुराका बिरामी भेटिएका छन् । नेपालगन्जमा दादुराको प्रकोप बढेका बेला खजुरा गाउँपालिकामा समेत संक्रमण देखिएको हो । खजुरा गाउँपालिका–२ का ११ र १४ वर्षिय २ जना बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
अहिले विद्यालय बन्द भएका कारण अत्यधिक जोखिम नभएपनि स्वास्थ्य सतर्कता भने अपनाउन अति आवश्यक रहेको खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ढकाल बताउछन् । उनिहरुको रिपोर्ट आई नसकेको र आफुहरुले अनुगमन समेत गरिरहेको जानकारी दिंदै स्वास्थ्य शाखा प्रमुख ढकालले आवश्यक परेको खण्डमा सम्बन्धित सबै निकायसंग समन्वय गर्ने र आवश्यक कार्यहरु गर्ने बताए ।
‘संजोगबस विद्यालयहरु बन्द छन् । नत्र हामी वर्तमान अवस्थामा भन्दा धेरै जोखिममा पर्न सक्ने सम्भावना थियो । हामीले यहाँका सबै स्वास्थ्य संस्थामा र निजि मेडिकलहरुमा आउने विरामीहरुमा दादुरा सम्बन्धि कुनैपनि लक्षण देखिएमा हामीलाई खबर गर्नुस, भनेका छौं । संक्रमित बढेको खण्डमा हामी ‘डब्लुएचओ’ र जनस्वास्थ्य कार्यालयसंग आवश्यक समन्वय र सहकार्य गछौं ।’– स्वास्थ्य शाखा प्रमुख ढकालले भने ।
केहि दिन अघि नेपालगन्जमा दादुराको संक्रमण फेला परेको थियो । आईतबारसम्म नेपालगन्जमा ७६ जना दादुरा संक्रमित बालबालिका भेटिएको नेपालगन्ज उप–महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताएका छन् । नेपालगन्जमा अहिले खोप लगाउने काम भइरहेको छ । खोप अभियान सुरु भएको दुई दिनमा नेपालगन्जका वडा नम्बर ५, ७ र ८ का १२ सय ५८ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ ।