खजुराको १२औं अधिवेशनमा पालिकाको समृद्धिको बारेमा छलफल
Sunday, January 8th, 2023, 9:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २४ पुष
खजुरा गाउँपालिकाको १२औं अधिवेशन सम्पन्न भएको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानको अध्यक्षतामा भएको अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मन्ज मल्लले आर्थिक वर्ष २०७९–८० को नीति, कार्यक्रम तथा बजेटका बारेमा समिक्षा भएको थियो ।
अधिवेशनमा पछिल्लो ६ महिनामा भएको कार्यक्रमको समिक्षा गर्दै आगामी आर्थिक वर्ष भित्रमा काम गर्ने पर्ने योजनाको समिक्षा, छलफल तथा रकामान्तर गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले पछिल्लो छ महिनामा भएका प्रगति, योजनाको अवस्थाको बारेमा अधिवेशनमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
अधिवेशनमा अति आवश्यक योजना सम्पन्न गर्नका लागि रकामन्तर देखि लिएर योजनाका बारेमा अधिवेशनमा उपस्थित गाउँसभाका सदस्यहरुले सल्ला, सुझाव दिएका थिए । अधिवेशनमा स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद १५ दफा १०२ बमोजिम गाउँपालिका क्षेत्राधिकार भित्र रहेको विभिन्न चार विधेयक स्वीकृतका लागि सभामा पेश गरिएको थियो ।
जसमा खजुरा गाउँपालिकाको नगर प्रहरी विधेयक २०७९, खजुरा गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९, खजुरा गाउँपालिकाको साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक २०७९ र स्वास्थ्य तथा सरसफाई ऐन २०७८ को परिच्छेद ४ को दफा १०(१) ख सहायक–अधिकृत पाँचौ र छैठौं तह(स्वा.प.न.– ज.न) १ जनाको भन्नेमा सहायक हटाई अधिकृत मात्र उल्लेख गर्ने र पाँचौं र छैठौं को ठाउँमा ६ कायम गर्ने बारेमा अधिवेशनमा प्रस्तुत गरिएको थियो ।

जसमा उपदफा(२) मा गाउँपालिका स्वास्थ्य शाखा हेर्ने गाउँपालिका अन्तर्गत कार्यरत हेल्थ इन्स्पेक्सन समुह मध्येबाट भन्ने शब्दको सट्टा स्वास्थ्यकमी मध्येबाट कार्य जेष्ठताको आधारमा कार्यपालिकाले तोकेकाले एक जना स्वास्थ्य शाखा प्रमुख रहेको छ । अधिवेशनमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले खजुरा गाउँपालिकाले जनताको आवश्यकता अनुसार योजना निर्माण गरि जनताको समस्याहरुलाई सम्बोधन गर्ने प्रयास गरिरहेको बताए ।
उनले भने, ‘हामी सिमित स्रोत र साधानलाई प्रयोग गर्दै खजुरा गाउँपालिकाको आर्थिक समृद्धिको आधार निर्माण गर्ने प्रयास गरिरहेको छौं । खजुराको समग्र विकासका लागि यहाँका युवाहरुलाई कृषि र व्यवसायमा जोड्ने प्रयास गरिरहेका छौं । जसले गाउँपालिकालाई आर्थिक र सामाजिक रुपमा सशक्त बनाउन सहयोग गर्नेछ । त्यसका लागि गाउँपालिकाले अल्पकालिन र दिर्घकालिन योजना बनाएर आफनो लक्ष्य अनुरुप काम गरिरहेको छ ।’
अधिवेशनमा उपस्थित भएका पालिकाका सभासदस्यहरुले पालिकाको समृद्धिको बारेमा अल्पकालिन र दिर्घकालिन योजना, नीति, विधेयकका बारेमा छलफल गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले बताए ।