जडीबुटीको प्रयोगबारे सचेतना जगाउँदै नेपालगन्जको १२ नम्बर वडा
Monday, January 9th, 2023, 7:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ पुष
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ ले जडीबुटीको पहिचान, प्रयोगको बारेमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले आयोजना गरेको अभिमुखिकरणमा वडा भित्र रहेका सरोकारवाला निकाय, व्यक्ति र संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
आफनो गाउँघरमा रहेका प्राकृतिक कुराहरु, घरमा भएका जडीबुटी, खाद्यन्नको पहिचान र तिनिहरुको सहि रुपमा सदुपयोग गर्दै नागरिकको स्वास्थ्यलाई राम्रो बनाउने उद्देश्य सहित अभिमुखिकरण कार्यक्रम गरिएको वडा अध्यक्ष तरुण बज्राचार्यले बताए ।

…………
उनले भने, ‘अहिलेको आधुनिक समयमा मानिसहरुमा विभिन्न रोगहरु देखिने गरेको छ । त्यस्ता रोगहरुबाट बच्न वा रोग लाग्न नदिनको लागि हामीसँग घरेलु रुपमा थुप्रै घरेलु जडीबुटी र औषधी छन् । तर हामीले त्यसलाई चिन्न सकिरहेको हुदैनौं । त्यसको प्रयोग गर्नेबारेमा हामीलाई जानकारी हुँदैन । यही कुरालाई मध्यनजर गरेर हामीले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेका हौं ।’
करिब ७० जना सहभागि रहेको अभिमुखिकरणमा जडीबुटीको पहिचान र प्रयोगका बारेमा नेपालगन्ज उप–महानगरपालिकाको आर्युवेद शाखाका कर्मचारीले सहजीकरण गरेका थिए । उनीहरुले घरेलु रुपमा पाईने जडिबुटी, खाद्यन्नको प्रयोगको बारेमा सहभागिलाई जानकारी गराएका थिए ।
अभिमुखिकरण कार्यक्रम पश्चात नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ परिसरमा रुद्राक्ष र रक्तचन्दनको ५–५ वटा विरुवा रोपिएको थियो । घरेलु जडिबुटी र योगजस्ता विषयमा वडावासीलाई सचेतना जगाउने उद्देश्यले वडाले वडास्तरीय आरोग्य समिति पनि गठन गरेको वडा अध्यक्ष बज्राचार्यले बताए । वडा अध्यक्षको नेतृत्वमा गठन गरिएको आरोग्य समितिले वडावासीको स्वास्थ्य स्तर बढाउने बारेमा काम गर्ने गरेको अध्यक्ष बज्राचार्यले बताए ।