केहि दिन पर सरयो श्याम थापा स्मृति फुटबल प्रतियोगिता (भिडियो सहित)
Monday, January 9th, 2023, 7:52 pm Kalpristha
कालपृष्ठ समाचारदाता खजुरा, २५ पुष
दोस्रो स्वः श्याम थापा स्मृति फुटबल प्रतियोगिता–२०७९ प्राविधिक कारणले केहि दिन पछि सरेको छ । जय किसान स्पोर्टस क्लबको आयोजनामा यही पुष २७ गतेदेखि प्रतियोगिता आयोजना गर्ने तयारी भैरहेको थियो । तर प्राविधिक कारणले प्रतियोगिता करिब दुई साता पछि गर्ने निर्णय भएको जय किसान स्पोर्टस क्लबका अध्यक्ष दिपु रानाले बताए ।
उनले भने,‘प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको थियो । तर हामीले विगत भन्दा भव्य गर्ने सोच बनाएकाले तयारीका लागि थप समय लाग्ने देखियो । क्लबको बैठकमा छलफल गरेर अब हामी केहि दिनभित्र छिटै प्रतियोगिता आयोजनाको नयाँ मिति सार्वजनिक गर्नेछौं ।’
…………
बाँके जिल्लामा चर्चित प्रतियोगिताको रुपमा चिनिएको छ दोस्रो स्वः श्याम थापा स्मृति फुटबल प्रतियोगिता । यस क्षेत्रका चर्चित खेलाडी श्याम थापा ‘हुईया’ स्मृतिमा यो प्रतियोगिता गत वर्ष देखि आयोजना गर्न सुरु गरिएको थियो । प्रतियोगिताले छोटो समयमा लोकप्रियता हासिल गर्न सफल भएको बताउँछन् जय किसान स्पोर्टस क्लबका महासचिव दिपक राना । जसका कारण हरेक वर्ष प्रतियोगिताको पुरस्कार राशि वृद्धि सँगै प्रतियोगितामा स्तरीय टिमहरुलाई सहभागि गराउने गरिएको महासचिव रानाले बताए ।
यसपटक प्रतियोगिताको दोस्रो संस्करणमा भारतीय क्लब सहित पश्चिम नेपालका चर्चित क्लबहरुलाई आमन्त्रण गरिएको महासचिव रानाले बताए । आयोजक जय किसान स्पोर्टस क्लबका अनुसार प्रतियोगितामा सयपटक विजेता हुने टिमलाई १ लाख २१ हजार, दोस्रोलाई ६१ हजार रुपैयाँ नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समान ५ हजार रुपैयाँ नगद पुरस्कार दिईनेछ ।
प्रतियोगितामा गत वर्ष आयोजक जय किसान स्पोर्टसले कैलालीको मसुरिया फुटबल एकेडेमीलाई हराउँदै उपाधि रक्षा गरेको थियो ।
स्वः श्याम थापा बाँके खजुरा गाउँपालिका वडा नम्बर १ निवासी खेलाडी थिए । जसले आफनो उत्कृष्ट खेल शैलीले पश्चिम नेपाललाई राष्ट्रिय स्तरमा चिनाएका थिए । उनले तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्र र भेरी अंचल टिमबाट फुटबल खेल्दै विभिन्न उपाधि जित्न सफल भएका थिए । उनको सम्मान स्वरुप श्याम थापा जन्मिएको गाउँमा प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।