आयात प्रतिबन्धको असर भन्सारमा
Monday, January 23rd, 2023, 5:30 am
Kalpristha
आयात घट्नुको मुख्य कारण त सरकारले विभिन्न बस्तुहरुमा लगाएको प्रतिवन्ध नै हो । जसका कारण आयात घटेको छ भने लक्ष्य पाएजति राजश्व संकलन गर्न सकिरहेका छैनौं । तर, यसमा आयात घट्नु संगै मार्जिनका कुराहरुले पनि रोल खेलेको छ ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, ८ माघ
सरकारले विभिन्न वस्तुहरुको आयातमा लगाएको प्रतिबन्धको असर नेपालगन्ज भन्सार कार्यालयमा देखापर्न थालेको छ । सरकारले विभिन्न बस्तुहरुको आयातमा लगाएको प्रतिबन्धका कारण आयात घट्दो क्रममा देखिएको छ ।
यसको प्रत्यक्ष असर भने भन्सार कार्यालय नेपालगन्जमा परेको छ । जसका कारण सो कार्यालयले राजश्व असुलीका निमित्त निर्धारण गरेको लक्ष्य भेटाउन निरन्तर असफल हुँदै आएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत नरबहादुर थापा पछिल्लो समयको आर्थिक मन्दीको असर पनि राजस्व संकलनमा देखिएको बताउँछन । थापा भन्छन, ‘आयात घट्नुको मुख्य कारण त सरकारले विभिन्न वस्तुहरुमा लगाएको प्रतिवन्ध नै हो । जसका कारण आयात घटेको छ भने लक्ष्य पाएजति राजश्व संकलन गर्न सकिरहेका छैनौं । तर, यसमा आयात घट्नु संगै मार्जिनका कुराहरुले पनि रोल खेलेको छ ।’
चालु आर्थिक बर्षको ६ महिनामा १ करोड ३९ लाख ३५ हजार ९ सय ६२ रुपैयाँको लक्ष्य निर्धारण गरेको भन्सार कार्यालयले ८५ लाख ६ हजार २ रुपैयाँ मात्रै राजश्व संकलन गर्न सक्यो । यो लक्ष्यको ६१.०४ प्रतिशत मात्रै हो ।
चालु आर्थिक बर्षको साउनमा १७ लाख ८८ हजार ५ सय ५५ रुपैयाँ राजश्व असुलीको लक्ष्य पाएकोमा १३ लाख ५४ हजार ६४ रुपैयाँ मात्रै राजश्व असुली भयो । जुन लक्ष्यको ७५.७१ प्रतिशत हो ।
चालु आर्थिक बर्षको भदौमा २२ लाख ३३ हजार ६ सय १३ रुपैयाँ राजश्व असुलीको लक्ष्य पाएकोमा १४ लाख ३४ हजार नौ सय १२ रुपैयाँ मात्रै राजश्व असुली भयो । जुन लक्ष्यको ६४.२५ प्रतिशत हो ।
चालु आर्थिक बर्षको असोजमा २३ लाख ४१ हजार ९ सय १४ रुपैयाँ राजश्व असुलीको लक्ष्य पाएकोमा १२ लाख ८५ हजार ५७ रुपैयाँ मात्रै राजश्व असुली भयो । जुन लक्ष्यको ५४.८८ प्रतिशत हो ।
चालु आर्थिक बर्षको कात्तिकमा २३ लाख ९८ हजार दुई सय सात रुपैयाँ राजश्व असुलीको लक्ष्य पाएको भन्सार कार्यालयले १५ लाख ४५ हजार ६ सय ५२ रुपैयाँ मात्रै राजश्व असुली गर्यो । जुन लक्ष्यको ६४.४६ प्रतिशत हो ।
यसैगरि चालु आर्थिक बर्षको मंसिरमा २४ लाख ९५ हजार ९ रुपैयाँ लक्ष्य पाएकोमा सो कार्यालयले लक्ष्यको ५५.२१ प्रतिशत मात्रै राजश्व संकलन गर्यो । भन्सार कार्यालय नेपालगन्जले मंसिर महिनामा १३ लाख ७७ हजार ४ सय ६० रुपैयाँ राजश्व संकलन गरेको थियो ।
चालु आर्थिक बर्षको अन्य महिना जस्तै पुष महिनामा पनि राजश्व असुलीको दायरा संकुचित भएको छ । यस महिनामा २६ लाख ७८ हजार ६ सय ६४ रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएकोमा १५ लाख ८ हजार ८८ रुपैयाँमात्रै राजश्व संकलन गर्न सफल भएको छ । यो रकम लक्ष्यको ५६.३० प्रतिशत हो ।
गत आर्थिक बर्षमा पनि निर्धारित लक्ष्य भन्दा कम राजश्व संकलन गरेको थियो । सो कार्यालयले गत आर्थिक बर्षमा निधारित लक्ष्यको ८८.५३ प्रतिशत मात्रै राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।