खेल मिलेमतोको आरोपमा मेहबुब आलम र आदिल म्याच फिक्सिङको आरोपमा पक्राउ
Monday, January 23rd, 2023, 1:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ९ माघ
खेल मिलेमतो (म्याच फिक्सिङ) को आरोपमा कीर्तिमानी नेपाली क्रिकेट खेलाडी मेहबुब आलम र राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आदिल अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । स्पट फिक्सिङ गरेको आरोपमा उनीहरुलाई केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रक्राउ गरेको हो ।
काठमाडौंमा हालै सम्पन्न नेपाल टी–२० क्रिकेट लिग खेलको दौरान मिलेमतोमा संलग्न रहेको आरोपमा मेहबुब र आदिललाई प्रक्राउ गरिएको हो । राष्ट्रिय टोलीका पुर्व अलराउन्डर ४१ वर्षीय मेहबुबले सन् २००८ मा भएको आइसीसी विश्व क्रिकेट लिग–५ मा मोजाम्बिका विरुद्धको खेलमा कीर्तिमानी १० विकेट लिएका थिए । जुन अन्तराष्ट्रिय खेलमा नेपाली खेलाडीले एउटै खेलमा लिएको सर्वाधिक विकेटको कीर्तिमानी हो ।
यसैगरी गत मार्चमा नेपालमा भएको पपुवा न्युगिनी विरुद्धको खेलबाट १९ वर्षीय आदिलले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनले डेब्यु खेलमै ११ बलमा ३१ रन बनाउँदैं चर्चामा आएका थिए । तर उनीहरु दुबैलाई प्रहरीले सोमबार म्याच फिक्सिङको आरोपमा प्रक्राउ गरेर काठमाडौं ल्याउने तयारी गरेको छ । मेहबुबलाई विराटनगर र आदिललाई राजविराजबाट प्रक्राउ गरेर प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ ।
खेलका दौरान स्पट फिक्सिङ र बेटिङ समेत भएको भन्दै सिआइबीले अनुसन्धान सुरु गरेको थियो । यसअघि सिआइबीकै अनुसन्धानले प्रतियोगितामा कमर्सियल पार्टनरको रुपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको भुमिका समेत शंकास्पद रहेको देखाएको थियो ।
पुस ९ गतेबाट सुरु भएको प्रतियोगिताको लिग चरणअन्तर्गत काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल दौरान दुवै टोलीका खेलाडीले पारिश्रमिक नपाएको भन्दै मैदान उत्रन अस्विकार गरेपछि विवादित नेपाल टी २० लिग थप विवादमा तानिएको थियो ।
खेलकै दौरान म्याच फिक्सिङको विवादमा तानिएपछि प्रतियोगिताको पहिलो संस्करण थप विवादमा परेको थियो । सो खेलपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको आएको जानकारी प्रहरीलाई दिएका थिए । मुलुकी अपराध संहिता २०७४ ले खेल मिलेमतो तथा म्याच फिक्सिङसम्बन्धी कसुरमा सजाय निर्धारण गरेको छ । संहिताको दफा ५१ उपदफा ३ मा नेपालमा वा विदेशी मुलुकमा खेल मिलेमतो गरे ३ वर्षसम्म कैद र ३ हजार सम्म जरिवाना र फिक्सिङमा लेनदेन भएको रकम सबै जफत गर्न सक्ने कानुनमा उल्लेख छ ।