अलपत्र फोरलेन सडकले लियो २५ जनाको ज्यान
Tuesday, January 24th, 2023, 6:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, १० माघ
दाङको लमही–घोराही–तुलसीपुर फोरलेन सडक विस्तार आयोजना ४ वर्षदेखि अलपत्र परेको छ । २०७५ पुुस १३ गतेदेखि निर्माण सुरु भएको विस्तार आयोजना ०७८ असोज मसान्तसम्म अर्थात् काम सुरु भएको ३० महिनाभित्र सम्पन्न हुने सम्झौता भएको थियो ।
भारतीय निर्माण तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले १ करोड २१ लाख ८२ हजार अमेरिकन डलरमा सो सडक निर्माणको जिम्मा लिएको थियो । फोरलेन सडक विस्तार आयोजना सुरु भएको अहिले झण्डै ४ वर्ष बितिसकेको छ । यस बीचमा ३ पटक म्याद थप समेत भइसकेको छ । तर आयोजना निर्माणको काम म्याद थपमै गुज्रिरहेको छ ।
आयोजना निर्माणका नेपाल सरकार र भारतीय निर्माण कम्पनीबीच भएको ३० महिनाको समयसीमा निर्माण कम्पनीले विद्युुत पोल, सडक वरपरका रुख बिरुवा, खानेपानी आयोजना पाइप लाईन, सडक सीमालाई कारण देखाउँदै गुजारेको थियो । यसपछि पहिलो पटक ३ महिनाको म्याद थप ०७८ असोजमा, ६ महिनाका लागि पुनः दोस्रो पटक म्याद ०७८ माघमा अनि २०७९ वैशाख मसान्तमा २०८० असार मसान्तसम्मका लागि तेस्रो पटक म्याद थप गरियो । उक्त थपिएको म्यादमा पनि निर्माण कम्पनीले आलटालमै गुजारिरहेको छ ।
तेस्रो पटक थपिएको म्याद सकिन जम्मा साढे ५ महिनामात्र बाँकी छ । तर लमही–घोराही–तुलसीपुर फोरलेन सडक विस्तार आयोजना निर्माणले गति लिन सकेको छैन । अलपत्र फोरलेन विस्तार आयोजनाका कारण सर्वसाधारणहरूको दैनिकी निकै कष्टकर बनिरहेको छ ।