आईपीओ निष्कासन गर्दै शुभम् पावर
Tuesday, January 24th, 2023, 6:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० माघ
शुभम् पावर लिमिटेडले १८ माघदेखि सर्वसाधारणलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा हेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपछि सर्वसाधारण्को लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्कासन गर्न लागेको हो। आयोजना प्रभावित स्थानीयले नकिनेको सेयर थप गरेर ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो । जसमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको थियो । यस्तै २९ हजार ३० कित्ता सेयर सामूहिक लगानी कोषलाई र ११ हजार ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा २२ माघसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि ३ फागुनसम्म थप हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका–९ मा १ साउन २०६८ देखि ९९० किलोवाट क्षमताको पिलुवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।
आयोजनको अनुमानित प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित १४ करोड ५४ लाख ४५ हजार ३४२ रुपैयाँ छ भने आयोजनाको कुल अनुमानित लागत १४ करोड ३९ लाख ९० हजार ८८९ रुपैयाँ रहेको छ ।