खजुरामा अपाङ्गता भएका व्यक्तिलाई डिजिटल परिचयपत्र वितरण सुरु
Tuesday, January 24th, 2023, 6:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १० माघ
खजुरा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई पहिलोपटक डिजिटल परिचयपत्र वितरण सुरु गरिएको छ । हाम्रो सम्मान परियोजना तथा माइती नेपालको प्राविधिका सहयोगमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सिम्स प्रविधि मार्फत डिजिटल अपाङ्गता परिचय पत्र वितरण कार्यको सुरुवात गरेको हो । गाउँपालिका भित्र रहेका सम्पुर्ण जेष्ठ नागरिक,अपाङ्गता व्यक्तिको सम्पूर्ण विवरणसहितको राम्रो गुणस्तरको पानीमा खस्दासमेत नबिग्रने किसिमको परिचयपत्र वितरण गर्न लागिएको हो ।
गाउँपालिकाले आठ वटै वडामा अपाङ्गता भएकाहरूको विवरण सङ्कलन गरेको थियो । सोही आधारमा दर्ता भएका आवेदनमध्येबाट मङ्गलबार देखि १२ जना अपाङ्गता र २ जना जेष्ठ नागरिकलाई डिजिटल प्रविधिको परिचयपत्र वितरण सुरुआत गरिएको हो । पूर्ण अशक्तलाई रातो, अति अशक्तलाई निलो तथा मध्यम र सामान्यलाई पहेँलो र सेतो परिचपत्र तयार गरिएको छ । परिचयपत्रका आधारमा सार्वजनिक यातायात, स्वास्थ्य सेवालगायतमा उनीहरूले सहुलियत तथा सुविधा पाउँदै आएका छन् ।
गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको सवालमा चासो दिएकै कारणले गुणस्तरीय डिजिटल प्रविधिको परिचयपत्र वितरण शुरु भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले बताउँदै उनले यसबाट अपाङ्गता भएकालाई आवश्यक नीति निर्माणमा समेत सघाउ पुग्ने बताए ।
गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ४ बमोजिम स्थानीय तहलाई प्राप्त अधिकारबमोजिम तथ्याङ्क सङ्कलन गरी परिचयपत्र वितरण गरिएको जानकारी दिइन ।