आचार्यको निधनको शोकमा नेपालगन्जका व्यवसाय आधा दिन बन्द गरिने
Wednesday, January 25th, 2023, 7:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ माघ
इलामको सूर्योदय नगरपालिका निवासी व्यवसायी प्रेमप्रसाद आचार्य ‘सन्तोष’को संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा भएको निधनको शोकमा नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार सम्पूर्ण उद्योग,व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । साथै बिहान १० बजेदेखि १ बजेसम्म धम्वोझीचोकमा शोकसभा गर्ने निर्णय गरिएको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । संघले बुधबार साँझ आयोजित पत्रबार सम्मेलनमा एक बिज्ञप्ति जारी गर्दै सो निणर्य गरेको सार्वजनिक गरेको हो ।
उक्त विज्ञप्तिमा ‘सरकारका अव्यवहारिक र अनुचित नितिका कारण उद्योग÷व्यवसाय धराशायी बनेको छ । व्यवसायीहरु घर न घाटको अबस्थामा आइपुग्नुपरेको छ । हाल उत्पन्न समस्या समाधान गर्दै सहज वातावरण निर्माणको पर्खाइमा बसेका व्यवसायी तथा जनतालाई सरकारका तर्फबाट राहत महसुस हुने कुनै कदम चालिएको छैन । हरेक क्षेत्रमा अनुचित र अव्यवहारिक नीति बनाउदाको परिणाम स्वदेशमै रहेर इलम गर्ने सपना देखेका होनहार व्यवसायी प्रेमप्रसाद आचार्यले अत्यन्तै गम्भीर र मानवजिवनमा अस्वीकार्य कदम चाल्न बाध्य हुनुभयो । दुखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ ।
साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।’– भनिएको छ । ‘आत्मदाह पुर्ब आचार्यले उठान गर्नु भएको आर्थिक क्षेत्रका अव्यवहारिक नीतिको पीडा हरेक उद्योगी,व्यवसायी भोग्नुपरिरहेको छ । अत नेपालगन्ज उद्योग वाणिज्य संघ अकल्पनीय यस घटनालाई गम्भीरतापूर्वक लिदै बिद्यमान देखा परेका निजिक्षेत्रलाई प्रताडित बनाउने नीति सच्याउन सरकारलाई दवाव दिन र स्वर्गिय आचार्यको निधनको शोकमा २०७९ माघ १२ गते दिउँसो १ बजेसम्म सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्न आह्वान गर्दछ ।’
अकल्पनीय घटनाले देशभरका उद्योगी÷व्यवसायीलाई मर्माहत र पीडा दिएको भन्दै सो विज्ञप्तिमा एउटा व्यक्तिको मृत्यु भएको सामान्य घटना नभएको र हरेक क्षेत्रमा अब्यवहारिक नीति निर्माण गर्ने राज्य चलाउनेहरुको अनुहारमा कहिले पनि नमेटिने गरेर लागेको कालो धब्बा भएको दावि गरिएको छ ।