आज वसन्त पञ्चमी तथा सरस्वती पुजा
Thursday, January 26th, 2023, 5:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ माघ
वसन्त पञ्चमी तथा सरस्वती पुजा आज देशभरी मनाइदैछ । आजको दिन साना साना बालबालिकाहरुलाई अक्षर चिनाउनेदेखि लिएर कुनै नयाँ कामको थालनीका लागि समेत राम्रो साइत मानिन्छ ।
यस दिन धुमधामका साथ सरस्वतीको पूजा गरिने परम्परा रहेको छ । सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ । संगीतको उत्पति गरेको कारण उनलाई संगीतकी देवीको रुपमा पनि मानिन्छ । ऋग्वेदका अनुसार यिनी परम चेतना हुन्, सरस्वतीको रुपमा यिनी हाम्रो बुद्दि, प्रज्ञा तथा मनोवृत्तिहरुकी संरक्षिका हुन्, हामीमा भएको आचार र मेधाको मुख्य आधार नै भगवती सरस्वती हुन् । बसन्त पंचमीको दिन हरेक घरमा देवी सरस्वतीको पूजा गरिनुका साथै कप, किताबलगायत बाद्यबादनका सामग्रीहरुको पूजा गरिन्छ ।
पञ्चांगका अनुसार बसन्त पञ्चमी माघ महिनाको पञ्चमी तिथिमा मनाइन्छ । हिन्दू मान्यताका अनुसार यसै दिन देवी सरस्वतीको जन्म भएको थियो ।
सृष्टीको रचना गर्दा जब ब्रम्हाले जीवजन्तुहरु तथा मनुष्य योनीको रचना गरे, सबैतिर सन्नाटा छाएको थियो । उनलाई लाग्यो कि केही कुरा अपुरो छ । त्यसपछि उनले आफ्नो कमण्डलुबाट जल छर्किए, जसबाट चार हात भएकी एक सुन्दर स्त्री प्रकट भइन् ।
ती स्त्रीको एक हातमा वीणा तथा अर्को हात वर मुद्रामा थियो । बाँकी दुई हातमा पुस्तक र माला थिए । ब्रम्हाले देवीसँग वीणा बजाउने अनुरोध गरिन् । जसै देवीले वीणा बजाउन सुरु गरिन्, संसारका समस्त जीवजन्तुहरुमा आवाज भरियो ।
त्यसपछि ब्रम्हाले उनलाई ‘वाणीकी देवी सरस्वती’ नामाकरण गरे । ब्रम्हाले देवी सरस्वतीको उत्पत्ती बसन्त पञ्चमीकै दिन गरेका थिए । त्यसैले हरेक वर्ष बसन्त पञ्चमीको दिन सरस्वतीको जन्म दिन मनाइन्छ ।
बसन्त पञ्चमीको दिन पहेँलो रंगको विशेष महत्व हुन्छ । पहेंलोलाई बसन्तको प्रतिक मानिन्छ । बसन्त ऋतुलाई सबै मौसमहरुमध्ये ठूलो मानिन्छ ।