आयुर्वेदमा ऐतिहासिक पाईला चाल्दै नेपालगन्ज आयुर्वेद हस्पिटल
Thursday, January 26th, 2023, 5:00 am
Kalpristha
साविक मध्य र सुदुरपश्चिमको हब नेपालगन्जलाई जडीबुटीको राजधानी भनिन्छ । तर यसको समुचित फाइदा भने यस क्षेत्रले लिन सकेको छैन । पश्चिम नेपालमा आयुर्वेद शिक्षा सम्बन्धी अध्यापन गराई आयुर्वेद उपचार पद्धति मार्फत आम नागरिकको स्वास्थ्यमा सुधार ल्याउँदै ‘स्वस्थ नेपाली, समृद्धि नेपाल’ भन्ने मुल नाराका साथ ‘नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल’ संचालनमा आएको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ माघ
आयुर्वेदलाई विश्वकै प्राचिन चिकित्सा शास्त्र मानिन्छ । नेपालमा प्राविधिक क्षेत्रमा पढाई हुने पहिलो शास्त्र पनि हो आयुर्वेद । नेपाल जडीबुटीमा धनी मानिन्छ । त्यसमा पनि बाँकेको नेपालगन्जलाई त जडिबुटीको राजधानी नै भनिन्छ । गरिब, सर्वसाधारण र आम नागरिकको स्वास्थ्यलाई सुधार गर्दै स्वस्थ जनशंक्ति उत्पादनमा आयुर्वेदको अतुलनीय योगदान छ ।
नेपाल सरकारको तथ्याङलाई आधार मान्ने हो भने पनि हाम्रो देशमा करिब ८० प्रतिसत जनताले प्राथमिक उपचारमा आयुर्वेदको प्रयोग गरेको पाइन्छ । तर नेपालमा आयुर्वेदको बैज्ञानिक र सैद्धान्तिक ढंगले अध्ययन, अनुसन्धान र प्रयोगका बारेमा धेरैलाई थाहा छैन ।
आयुर्वेद चिकित्सा शिक्षा र आयुर्वेद चिकित्सालाई आम नागरिकको पहुँचमा पु¥याउने उद्देश्यले नेपालमा पहिलो पटक निजि क्षेत्रबाट १५ शैयाको ‘नेपालगन्ज आयुर्वेद जनरल अस्पताल’ संचालनमा आएको छ । नेपालगन्जको आदर्श नगर चौक नजिकै खुलेको अस्पताल परिसरको वातावरण निकै सुन्दर छ । अस्पताल भित्रका कक्षहरु पनि उच्च स्तरीय अस्पतालको भन्दा कम छैन । अस्पतालमा प्रयोग हुने प्रविधि, विधि, जनशंक्ति पनि त्यही स्तरका छन् ।
नेपालगन्ज हेल्थ क्याम्पसले संचालन गरेको अस्पतालको आज बिहिबार औपचारिक रुपमा उद्घाटन हुँदैछ । नेपालमा पहिलो पटक नेपालगन्जमै कसरी यस्तो अस्पताल खोल्ने योजना बन्यो भन्ने बारेमा हामीले बुझने प्रयास ग¥यौं ।
नेपालगन्ज आयुर्वेद जनरल अस्पतालका अध्यक्ष तथा संचालक संविधान सभा सदस्य मैकुलाल वाल्मिकी भन्छन, ‘सबै जना मेडिकल क्षेत्रकै दौडमा छन् । तर हामीले आफनो अवस्था, इतिहासलाई बिर्सिदैछौं । नेपालमा अझ पनि दुर्गम, ग्रामिण क्षेत्रहरु धेरै छन् । आर्थिक अवस्था कमजोर भएका मानिसहरुको संख्या धेरै छ । उनीहरुले सहि रुपमा उपचार पाईरहेका छैनन । हामी जडीबुटीमा सम्पन्न देश हौं । हाम्रो वरपर भएका जडिबुटी जडिबुटी नै उपयोगी छन् । यही कुरा स्थापित गराउने हाम्रो लक्ष्य छ ।’
जनमानसमा आयुर्वेद प्रति सकारात्मक भावनाको विकास गरी रोग निर्मुल पार्दै स्वस्थ नागरिक बनाउने मुख्य उद्देश्य रहेको बताउँछन वाल्मिकी । उनले भने,‘एलोपेथिक पद्धति भनेको आयुर्वेदको विकल्पका रुपमा विश्वमा आएको हो । अब समय फेरिएको छ । एलोपेथिकको विकल्पको रुपमा आयुर्वेद हुनेछ । विश्व स्वास्थ्य संगठनले पनि त्यो कुरालाई मध्य नजर गर्दै आयुर्वेद चिकित्सालाई मान्यता दिएको छ ।’
साविक मध्य र सुदुरपश्चिमको हब नेपालगन्जलाई जडीबुटीको राजधानी भनिन्छ । तर यसको समुचित फाइदा भने यस क्षेत्रले लिन सकेको छैन । पश्चिम नेपालमा आयुर्वेद शिक्षा सम्बन्धी अध्यापन गराई आयुर्वेद उपचार पद्धति मार्फत आम नागरिकको स्वास्थ्यमा सुधार ल्याउँदै ‘स्वस्थ नेपाली, समृद्धि नेपाल’ भन्ने मुल नाराका साथका नेपालगन्ज हेल्थ क्याम्पसले ‘नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल’ संचालनमा ल्याएको अस्पतालले जनाएको छ ।
नेपालमा यसैवर्षदेखि सिटिइभिटीले आयुर्वेद एचए शिक्षा अध्यापनका लागि अनुमती दिएको छ । त्यसमा नेपालगन्ज हेल्थ क्याम्पस पनि छनोट भएको छ । तर आयुर्वेद एचए अध्यापनसँगै विद्यार्थीलाई बिरामीको उपचार कसरी गर्ने, हेरचाह कसरी गर्ने, रोग कसरी पत्ता लगाउने भन्ने बारेमा अभ्यासका लागि आयुर्वेद अस्पतालको खाँचो थियो । आयुर्वेद एचए उत्पादन गर्नको लागि चिकित्सा शिक्षा आयोग र सिटिइभिटीले पनि अस्पताल निर्माण गर्नु पर्ने नियम बनाएको छ ।
नेपालगन्जबाट आयुर्वेद चिकित्सा क्षेत्रमा दक्ष जनशंक्ति उत्पादन गर्ने अस्पतालको अर्को प्रमुख उद्देश्य रहेको बताउँछन् नेपालगन्ज आयुर्वेद जनरल अस्पतालका प्रमुख प्रशासकिय अधिकृत प्रभाकर मिश्रा । उनी भन्छन,‘
नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल स्वास्थ्य क्षेत्रलाई सम्मानित, मर्यादित एवम् सेवामुलुक भावनाले प्रेरित भएर खुलेको हो । आयुर्वेद शिक्षाको प्रचार–प्रसार गर्ने, दक्ष, योग्य जनशंक्ति उत्पादन गर्ने, नेपालको प्राकृतिक जडीबुटीको अध्ययन गर्ने, सरल, सहज र सुलभ आयुर्वेद चिकित्सा प्रदान गर्ने अस्पतालको लक्ष्य हो ।’
नेपालका सबै नागरिक स्वास्थ हुन, नेपाल समृद्धि राष्ट्र बनोस भन्ने अभियानलाई सार्थक बनाउने प्रयास गरिरहेको उनले बताए । नेपालगन्ज आयुर्वेद अस्पतालका सबल पक्षहरुमा योग्य, अनुभवी विशेषज्ञ चिकित्सक, उच्च, आधुनिक प्रयोगशाला, योग, विज्ञानको प्रचार प्रसार गर्ने, शिष्ट र सर्मपित दक्ष जनशंक्ति, प्रर्याप्त फराकिलो ठाउँ र यातायातको सहज सुविधा, अपरेशनमा अत्याधुनिक उपकरणको प्रयोग रहेका छन् ।
२०७९ कात्तिक देखि २०७५ पौष महिना सम्म नेपालगन्ज आयुर्वेद अस्पतालले पाइल्स अपेरशन, सुगर, थाइराइड, मुत्र प्रणाली, पिनास, दम, निमोनिया, पाठेघर, महिनावारी अनियमितता, छालारोग, यौनरोग, नसा सम्बन्धी रोग र हाडजोनी गरी करिब तीन सय विरामीको सफल उपचार गरिसकेको छ । पश्चिम नेपालमा आयुर्वेद चिकित्सा सेवालाई आम नागरिक सम्म पु¥याउन नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले ऐतिहासिक काम गर्ने बताउँछन् अस्पतालका प्रमुख डा. शिवराज सुवेदी ।
आयुर्वेद स्नातक तथा जनस्वास्थ्यमा स्नातक डा. सुवेदीले भने,‘आयु भनेको जीवन, वेद भनेको विज्ञान । आयुर्वेद भनेको आयु, जीवन सम्बन्धी अध्ययन गर्ने विज्ञान हो । त्यही विज्ञानमा रहेर विभिन्न रोगको उपचार गर्ने, जीवन उपयोगी शिक्षा दिने, रोग नलाग्ने अवस्था सृजना गर्ने काम आयुर्वेदले गर्छ । आयुर्वेद चिकित्सा सेवाले आम मानिसलाई उत्कृष्ट सेवा दिनेछ । जसले आयुर्वेदको बारेमा नागरिकमा आर्कषण जगाउँनेछ ।’
नेपालगन्ज हेल्थ क्याम्पसले अस्पतालले आगामी दिनमा आफनो सेवा, सुविधा र स्तरलाई बढाउदै लग्ने योजनाका साथ अगाडी बढिरहेको छ । आगामी पाँच वर्षभित्र ५० शैयाको अस्पताल बनाउने, हाल एचए आयुर्वेद तिनवर्षे कोर्षको साथै चार वर्षे, आयुर्वेद शिक्षाको स्नातक तह सम्मको अध्ययन अध्यापनको व्यवस्था गर्ने, आयुर्वेद सम्बन्धी विभिन्न तालिम, योगा थेरापी, प्राकृतिक चिकित्सा र निशुल्क स्वास्थ्य शिविरहरु गर्ने योजना बनाएको छ ।
आगामी दिनमा विद्यार्थी, आम नागरिक, जनसमुदाय र सेवाग्राहीको हकहित, अधिकारको संरक्षण गर्दै हाल प्रदान भैरहेका सेवामा बृद्धि गर्नुको साथै थप प्रभावकारी, व्यवस्थित, सहज, सुलभ एवम् सस्तो स्वास्थ्य सेवा प्रदान गर्ने नेपालगन्ज हेल्थ क्याम्पसले प्रतिवद्धता गरेको छ ।
नेपालमै निजि क्षेत्रले चासो नदिएका बेला नेपालगन्ज हेल्थ क्याम्पसले आयुर्वेदका क्षेत्रमा एउटा ऐतिहासिक योजनाको सुरुआत गरेको छ । जसले नेपालको आधुनिक आयुर्वेद चिकित्सा क्षेत्रमा एउटा कीर्तिमान कायम गरिसकेको छ । शिक्षासँगै सेवा र सुविधामा पनि नेपालकै उत्कृष्ट आयुर्वेद अस्पताल बन्ने आफनो टिमको लक्ष्य रहेको बताउँछन अस्पतालका अध्यक्ष वाल्मिकी ।
के हो आयुर्वेद ?
आयुर्वेद विश्वकै प्राचिन चिकित्सा शास्त्र हो । आयुर्वेद इशापुर्व ३ हजार देखि ५० हजार वर्ष अघि भारतवर्षबाट विकास भएको मानिन्छ । मानव स्वास्थ्य शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्छ भने रोग त्रि–दोषहरु(वात, पित्त र कफ) को असन्तुलनको कारणले हुने विश्वास आयुर्वेदमा छ ।
स्वास्थ्य र रोगबारे आयुर्वेदको अवधारणहरुले जडीबुटी मिश्रण, विशेष आधार र अन्य स्वास्थ्य पद्धतिहरु(योग, पञ्चकर्म, क्षारसूत्र)को प्रवर्तन गर्दछ । नेपाल, भारत, श्रीलंका लगायतका दक्षिण एसियाली मुलुकहरुमा आयुर्वेदको प्रयोग निकै नै बढी छ ।
हाल विश्वभरी नै आयुर्वेद वैकल्पिक उपचार पद्धतिको रुपमा प्रख्यात हुँदै आइरहेको छ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले आयुर्वेद पद्धतिबाट गरिने उपचार विधिलाई मान्यता दिदैं यसको अनुसन्धान, अध्ययन र प्रयोगमा सहयोग गर्दै आएको छ ।
नेपालमा आयुर्वेद चिकित्सा पद्धतिको निकै लामो इतिहास छ । सरकारको तथ्याङ अनुसार नेपालमा करिब ८० प्रतिसत मानिसहरु प्राथमिक उपचारका निम्ति आयुर्वेद चिकित्सा शास्त्रको प्रयोग गर्छन । नेपालमा सर्वप्रथम पढाई भएको पहिलो प्राविधिक विषय पनि आयुर्वेद हो ।
हाल त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त अध्ययन संस्थान(आइओएम) अन्तर्गत आयुर्वेद क्याम्पस र नेपाल संस्कृति विश्व विद्यालय मार्फत स्नातक तहको चिकित्सक तहको अध्यापन गराईन्छ । नेपालमा आयुर्वेद मेडिकल काउन्सिलले आयुर्वेद कलेज, आयुर्वेद चिकित्सकको नियमन गर्ने गरेको छ ।
नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल टिम
चिकित्सा शिक्षा क्षेत्रमा तिन दशक भन्दा बढी समय देखि सक्रिय भएर योगदान गरिरहनु भएका मैकुलाल बाल्मिकी नेपालगन्ज आयुर्वेद अस्पतालको अध्यक्ष तथा संचालक हुन । उनी संविधान सभा सदस्य पनि हुन् । स्वास्थ्य शिक्षामा कुशल व्यवस्थापकको छबी बनाउनु भएका प्रभाकर मिश्रा अस्पतालको प्रमुख प्रशासकिय अधिकृत रहेका छन् । आयुर्वेद चिकित्सा क्षेत्रमा दक्ष र कुशल डाक्टरको छबी बनाएका डा. शिवराज सुवेदी (आयुर्वेद स्नातक तथा जनस्वास्थ्यमा स्नातक) अस्पताल प्रमुखको रुपमा नेतृत्व गरिरहेका छन् ।
नेपालगन्ज आयुर्वेद अस्पताल टिममा आ–आफनो क्षेत्रमा कुशलता हासिल गरेका डा. मनोज कुमार यादव (आयुर्वेद स्नातक, स्वास्थ्य शिक्षामा स्नाकोत्तर), डा. मदन भण्डारी (आयुर्वेद स्नातक, शल्य चिकित्सामा स्नाकोत्तर), डा. योगेश वैद्य (आयुर्वेद स्नातक, पञ्चकर्म स्नाकोत्तर), पिन्सी मिश्रा (डिप्लोमा इन हस्पिटल म्यानेजमेन्ट),जनक बडुवाल(बिएमएलटी) सन्जिव चौधरी(एचए आयुर्वेद), सम्झना चौधरी(एचए आयुर्वेद) र मिडिया एडभाइजरको रुपमा कमल खत्री (एमए, आम संचार तथा पत्रकारिता, त्रिवि) रहेका छन् ।