व्यवसायी आचार्यको सम्झनामा नेपालगन्जमा शोकसभा
Thursday, January 26th, 2023, 7:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ माघ
संघीय संसद भवन अगाडी आत्मदाह गरेका व्यवसायी प्रेम प्रसाद आचार्यको निधनको शोकमा नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार धम्वोझीचोकमा शोकसभा गरेको छ । नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालय अगाडी नै आयोजित शोकसभामा उपस्थित उद्योगी,व्यवसायी आचार्यको निधनप्रति दुःख व्यक्त गरेका थिए ।
शोकसभामा बोल्दै पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले व्यवसायीहरु घर न घाटको अबस्थामा आइपुग्नुपरेको बताए । अध्यक्ष मन्सुरीले सरकारका अव्यवहारिक र अनुचित नितिका कारण उद्योग÷व्यवसाय धराशायी बनेको उल्लेख गरे । हरेक क्षेत्रमा अनुचित र अव्यवहारिक नीति बनाउदाका कारण स्वदेशमै रहेर व्यावसाय गर्ने सपना देखेका होनहार व्यवसायी प्रेमप्रसाद आचार्यले अत्यन्तै गम्भीर र अमानविय कदम चाल्न बाध्य भएको उनले बताए ।
शोकसभामा बोल्ने बक्ताहरुले धरासायी बन्दै गएको अर्थतन्त्र उकास्न सरकार अनि राष्ट्र बैंक गम्भिर नबन्दा उद्योगी,व्यवसायीले अकालमा ज्यान गुमाइरहेको व्यवसायीको आरोप छ ।
इलामको सूर्योदय नगरपालिका निवासी व्यवसायी आचार्य ‘सन्तोष’को संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएको थियो । उनको निधनको शोकमा नेपालगन्ज उद्योग वाणिज्य संघको आह्वानमा बिहिवार उद्योग, व्यवसाय बन्द गरी शोकसभा गरिएको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।