कनैयालाई नेपालगन्जमा गरियो अभिनन्दन
Friday, January 27th, 2023, 9:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ माघ
‘नेपालगन्ज बजारैमा’ गीतका चर्चीत गायक कनैया सिंह परियारलाई नेपालगन्जमा अभिनन्दन गरिएको छ । शुक्रबार क्रियटिभ ह्यान्डस्ले वरिष्ठ गायक तथा संगीतकार परियारलाई सम्मान गरेको हो । नेपालगन्जमा जन्मिएका परियारले तत्कालिन सिमित प्रविधि, सिमित साधानस्रोत, आर्थिक अभाव र प्रशिक्षकपुस्ता नभएको समयमा लोक, पप र आधुनिक नेपाली सुगम संगीतका क्षेत्रमा अनुकरणीय योगदान गरेको भन्दैं अभिनन्दन गरेको हो ।
हाल उनी अमेरिकामा बसोबास गर्दै आएका छन् । अमेरिकामा रहँदा पनि उनले नेपाली गीत संगीतको क्षेत्रको विकासमा सक्रिय भएर योगदान दिदैं आएका छन् । उनलाई नेपाल सरकारले पनि नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान–२०७८ बाट सम्मानित गरेको छ ।
शुक्रबार नेपालगन्ज स्थित होटल ग्यालेक्सी दरवारमा क्रियटिभ ह्यान्ड्सको तर्फबाट प्रतिनिधि सभा सदस्य(बाँके क्षेत्र नम्बर १) सुर्य ढकाल, नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट, नेपालगन्ज उप–महानगरपालिका निर्वतमान उपमेयर उमा थापा लगायतले अभिनन्दन गरेका थिए ।
संगीत क्षेत्रमा परियारले गरेको योगदान र निरन्तरतालाई सम्मान गर्दै सम्पुर्ण नेपालगन्जवासीको तर्फबाट अभिनन्दन गरेको क्रियटिभ ह्यान्ड्सका प्रमुख एवम अभिनन्दन समिति संयोजक टीएस ठकुरीले बताए । कार्यक्रममा नेपालगन्जका चर्चीत साहित्यकार, कथाकार र कलाकारहरुको पनि सहभागिता रहेको थियो ।