राप्तीसोनारीमा ७ औ थारू राष्ट्रिय साहित्य सम्मेलन हुने
Saturday, January 28th, 2023, 8:04 pm
Kalpristha
नेपालगन्ज, १४ माघ
कालपृष्ठ डेस्क
बाँकेको राप्तीसोनारीमा ७ औ थारू राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । थारु गोचाली समाज फत्तेपुरको सहकार्यमा थारु लेखक संघ नेपालको आयोजनामा राप्तीसोनारीमा यही माघ २० देखि २३ गते सम्म सम्मेलन हुने भएको हो । सम्मेलनमा थारु साहित्यको समकालीन अवस्थाबारे अन्तरसंवाद, सिर्जनात्मक लेखनको खोजी, थारू मानक भाषा लेखन, संस्कृतिको भेषभुषा बारे अन्तरक्रिया तथा छलफल गरिने थारु गोचाली समाज नेपाल बाँकेले जनाएको छ ।
थारू तथा गैरथारू साहित्यकारहरू बीच अनुभव आदान–प्रदान गर्ने, प्रकाशित कृतिहरूको विमोचन र बिक्री तथा प्रवद्र्धन गर्ने उद्देश्यले पनि सम्मेलन आयोजना गरिएको शनिबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको हो ।
सम्मेलनमा थारु साहित्यको समकालीन अवस्थाबारे अन्तरसंवाद गर्ने, थारु साहित्यको सिर्जनात्मक लेखनको रचनागर्भको खोजी गर्ने, थारू तथा गैर थारू साहित्यकारहरूबीच अनुभव आदान–प्रदान गर्ने, प्रकाशित कृतिहरूको विमोचन र बिक्री तथा प्रवद्र्धन गर्नका निमित्त सो सम्मेलन आयोजना गरिएको थारु लेखक संघ केन्द्रिय सदस्य शेखर दहितले जानकारी जानकारी दिए ।
थारु लेखक संघ केन्द्रिय सदस्य तथा साहित्यकार दहितका अनुसार सम्मेलनमा साहित्य लेखको प्रशिक्षण कार्यक्रम, थारू गीतको बाटो कता ? थारु लेख, थारु पुस्तक न्युन किन ? बिकासमा बरघर, पश्चिम थारुहटमा राजनितीक फिलिंगो, होमस्टेमा थारु समुदाय उद्यमशिलता सम्भाव्यता, आख्यानमा थारु जिवन, बाँकेको थारु साहित्यको अवस्था, थारु साहित्यमा युवा, शिकलसेल एनिमियाको कहरले जनस्वास्थ्यमा प्रतिकुल असर जस्ता थुप्रै जिल्ला तथा स्थानीय स्तरका थारुका मुद्दालाई लिएर बहस तथा छलफल गरिने छ ।
सम्मेलनमा बाँके जिल्ला र राप्ती सोनारीको मुख्य समस्या तथा समाधानको उपाय, शिक्षाको अवस्था, बरघरहरुको एजेण्डा, नयाँ जनप्रतिनिधिहरुको कामको प्राथमिकता लगायत विषय पनि उठान गरिने उनले बताए ।
राष्ट्रिय सम्मेलनको लागि तयारी पुरा भएको थारु गोचाली समाजका महासचिव कालुराम थारुले जानकारी दिए । सम्मेलनमा झापा–कञ्चनपुरका थारु साहित्यकारले सहभागिता जनाउने उनले बताए । थारु लेखक संघ नेपालले प्रत्येक वर्ष फरक–फरक जिल्लामा राष्ट्रिय सम्मेलन गर्दै आएको छ । २०७३ सालमा दाङको घोराहीमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन गरिएको थियो । दोस्रो सम्मेलन कैलालीको पटेला, तेस्रो सम्मेलन बर्दियाको बाँसगढी, चौथो सम्मेलन रुपन्देहीको सैनामैना, पाँचौँ सम्मेलन सुर्खेतको वीरेन्द्रनगरमा र छैठौँ सम्मेलन कञ्चनपुरको सिंहपुरमा भएको थियो ।