एमपी स्कुल मैदान, जहाँ खेल्न पाउँदा गर्व गर्छन् क्रिकेटर (भिडियो सहित)
Wednesday, February 1st, 2023, 6:05 pm Kalpristha
विगतको संस्करण कोहलपुरमा भएको थियो । यसपटक हामीले मंगलप्रसादको खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागेका छौं । मंगल प्रसाद उच्च माविको मैदानमा खेल्न पाउँदा हामीलाई गर्व महसुस हुन्छ । हाम्रो खेलाडीका लागि यो अवसरको कुरा हो
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ माघ
बाँकेको क्रिकेटमा मंगलप्रसाद मावि(एमपी) स्कुलको मैदान विशेष छ । क्रिकेटको क्रेज बढाउने पवित्र मैदानका रुपमा लिन्छन यहाँका क्रिकेटकर्मीले मंगलप्रसाद उच्च माविको खेल मैदानलाई । जहाँबाट सयौं राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन भएको इतिहास छ । क्रिकेटर उत्पादन गर्ने त्यही मैदानमा फेरी एउटा प्रतियोगिता हुँदैछ । जसले यहाँका क्रिकेटकर्मीलाई उत्साही बनाईरहेको छ । बुधबार मंगलप्रसाद माविको मैदानमा पुग्दा आयोजक बाँके जिल्ला क्रिकेटका पदाधिकारी र प्राविधिकहरु पिच निर्माण गर्ने देखि लिएर मैदानमा माटो पटान गर्ने कार्यमा व्यवस्थ थिए ।
मैदान तयारी भैरहेका बेला मैदानको एउटा भागमा घरेलु टिम मंगलप्रसाद उच्च माविका खेलाडीसहित अन्य क्लबका खेलाडीले प्रतियोगिताको लागि अभ्यास गरिरहेका थिए । बाँके जिल्लाका खेलाडीलाई लक्षित गरेर आगामी शनिबार देखि मंगलप्रसाद उच्च माविको मैदानमा नेपालगन्ज मेयर (पुरुष) तथा उपमेयर कप(महिला) टी–२० क्रिकेट प्रतियोगिता हुँदैछ । प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगिसकेको छ ।
………….
प्रतियोगिताले खस्कदो क्रिकेटको स्तरलाई माथि उकास्न महत्वपुर्ण सहयोग गर्ने बताउँछन् बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई । उनी भन्छन, ‘विगतको संस्करण कोहलपुरमा भएको थियो । यसपटक हामीले मंगलप्रसादको खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागेका छौं । मंगल प्रसाद उच्च माविको मैदानमा खेल्न पाउँदा हामीलाई गर्व महसुस हुन्छ । अरु धेरै क्रिकेटरले पनि मंगलप्रसादमा खेलेको भन्दैं गर्व महसुस गर्नु हुन्छ । यस्तो मैदानमा हाम्रो खेल्न पाउनु हाम्रा खेलाडीको लागि यो अवसर हो ।’
प्रतियोगिताले बाँकेमा क्रिकेटको चहलपहल फेरी बढाएको बताउँछन अध्यक्ष प्रसाई । उनले भने, ‘खेलाडीहरुको लागि यो प्रतियोगिता उत्कृष्ट अवसर हो । यसलाई हामीले छनोट प्रतियोगिताको रुपमा पनि लिएका छौं । खेलाडी उत्पादन निकै कम भएकाबेला यसले हामीलाई धेरै फाइदा गर्नेछ । खस्कदो क्रिकेटको अवस्थालाई माथि उकास्ने हाम्रो विश्वास छ ।’ प्रतियोगिता आयोजना गर्न दिएकोमा अध्यक्ष प्रसाईले विद्यालय परिवारलाई धन्यवाद दिए ।
नेपालगन्ज उप–महानगरपालिकाले सहयोग गरेको प्रतियोगिताको संयोजक सुफियान खान पठान हुन भने प्राविधिक संयोजकमा मनमोहन लम्साल रहेका छन् ।
बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक पठानले प्रतियोगिता आयोजना गर्नमा सिनियर क्रिकेटर देखि लिएर संघका पदाधिकारी, प्राविधिक र प्रशिक्षकहरुले निकै मिहिनेत गरेको बताउँछन । उनले भने, ‘तयारी निकै उत्साहका साथ भैरहेको छ । यसमा सबैले सहयोग गर्नु भएको छ । त्यसका लागि हामी धन्यवाद दिन चाहन्छौं । यस प्रतियोगिताले बाँके जिल्लाको स्तर बढाउन महत्वपुर्ण सहयोग गर्ने हामीले विश्वास लिएका छौं ।’
संयोजक पठानका अनुसार पुरुष तर्फ १६ र महिलाको ६ टिमलाई सहभागि गराउने योजना छ ।
स्थानीय खेलाडीको पहिचान र उनीहरुलाई अवसर दिने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा बाँके जिल्लामा रहेका क्लब, विद्यालय र बाँके जिल्लाबाट जुनसुकै प्रतियोगितामा सहभागि भएका खेलाडी र टिमले प्रतियोगितामा सहभागिता जनाउन पाउँनेछन् । प्रतियोगिताको पुरस्कार राशीको बारेमा संघले छिटै सार्वजनिक गर्ने बताएको छ ।
क्रिकेटको विकाससँगै व्यवसायिक क्लबको पनि महत्वपुर्ण योगदान हुने गर्छ । बाँकेमा क्रिकेटका थुप्रै क्लब भएपनि तिनिहरु सक्रिय छैनन् । प्रतियोगिताले बाँके जिल्लामा रहेका क्रिकेट क्लबलाई पनि सक्रिय बनाउने वातावरण सृजना गर्ने बताउँछन राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको रुपमा काम गरिसकेका प्रशिक्षक दिपेन्द्र प्रताप सिंह ।
…………….
सिंह भन्छन, ‘प्रतियोगिताले नयाँ खेलाडीलाई अवसर र प्रतिभा छनोटमा सधै सहयोग गर्छ । यस प्रतियोगितामा क्लबले पनि भाग लिन पाउने भएकोले अरु भन्दा भिन्न छ । क्लबहरुलाई सक्रिय बनाउन यस्ता प्रतियोगिता आवश्यक छ ।’
नयाँ प्रतिभा जन्माउनको लागि संघले वार्षिक योजना बनाएर लिग प्रतियोगिता गर्नु पर्ने प्रशिक्षक सिंहको सुझाव छ । प्रतियोगिता आयोजनाको खबरले नेपालगन्जका खेलाडीहरुमा नयाँ उत्साह जागेको बताउँछन बाँके जिल्ला क्रिकेट संघका सदस्य मेराज अन्सारी । खेलाडी छनोटकर्ताको रुपमा पनि काम गरिरहेका अन्सारी भन्छन, ‘धेरै पछि एमपी स्कुलमा क्रिकेट प्रतियोगिता हुँदा सबै जना खुसी छन् । क्रिकेटमा करियर बनाउन चाहने नयाँ प्रतिभाहरुका लागि प्रतियोगिता एउटा अवसर हो । क्रिकेट विकासका लागि विभिन्न प्रकारका प्रतियोगिता र नियमित प्रशिक्षण हुनु पर्छ । संघले पनि आगामी दिनमा यसलाई निरन्तरता दिने प्रयास गर्छ ।’