सांसद चौधरी कारागार चलान
Friday, February 3rd, 2023, 6:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० माघ
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ । बिहिबार बाँकेबाट पक्राउ गरि काठमाडौं हुदै धनगढी र्पुयाएको प्रहरीले शुक्रबार बिहान उनलाई कैलाली जिल्ला अदालतमा बुझाएको थियो । अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते महादेव बजगाईले कैलाली जिल्ला अदालतमा उनीसहित तीन जना विरूद्ध मुद्दा दायर गरेका थिए ।
ट्याक्टरमा आगजनी गरेको कसुरमा अदालतले सांसद चौधरीलाई दोषी ठहर गरेको थियो । कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते सांसद चौधरीसहित परशुराम चौधरी र बिरबहादुर चौधरीका नाममा ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला सुनाएको थियो ।
उनले अदालतको फैसला अनुसार सजाय भुक्तान नगरेको भन्दै अदालतले कारागार चलान गरेको हो । दोषी ठहर गरिएकामध्येका वीरबहादुर चौधरीले गत शुक्रवार मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रूपैयाँ दाखिला गरी कैद मुक्त गरिपाऊँ भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए ।
जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको इजलासले उक्त निवेदन अस्वीकार गर्दै ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो । वीरबहादुर चौधरी पक्राउ परेपछि सांसद चौधरीले कैद सजाय भुक्तान नगरेर फरार रहेको खुल्न आएको थियो ।
चौधरीलाई पक्राउ गरिएपछि रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टी, थारु कल्याणकारिणी सभा लगायतले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले सरकार र तत्कालीन आन्दोनकारी थरुहट थारुवान पक्षबीच २०६६ भदौ ३ गते यो ट्याक्टर जलाइएको लगायतका मुद्दा फिर्ता लिने समझदारी भइसकेको दाबी गरेका छन् । सम्झौता भए पनि पुरानो विषयलाई सुनियोजित ढंगले उठाइएको नागरिक उन्मुक्ति पार्टीको भनाई छ ।