कुसुण्डा भाषा सिक्दै नयाँ पुस्ता
Friday, February 3rd, 2023, 7:06 pm
Kalpristha
लीलाधर वली
दाङ, २० माघ
सोजाक गिम्चि (नमस्ते साथी)
हिमा : नि गिजि न (तपाईको नाम के हो )
मनबहादुर : चियि गिजि मनबहादुर (मेरो नाम मनबहादुर हो)
हिमा : नि उहि हाप्पे (तपाईको घर कहाँ हो ?)
मनबहादुर : चियि उहि प्युठान तिराम । (मेरो घर प्युठानको तिराम हो)
हिमा : उहि गा नटि नटि चि (घरमा को को छन् ?)
मनबहादुर : मै यै चि (आमा र बुवा छन् )
यी संवाद घोराही उपमहानगरपालिका–५ धर्ना स्थित महेन्द्र माध्यमिक विद्यालयमा कुसुण्डा भाषा अध्ययरत प्यूठान जिल्ला तिराम निवासी हेमा कुसुण्डा र मनबहादुर कुसुण्डाका हुन् । कुसुण्डा भाषा कुसुण्डा जातिको मातृभाषा भए पनि हेमा र मनबहादुरलाई बोल्न आउँदैन थियो । भाषा आयोगले लोपोउन्मुख अवस्थामा पुगेको कुसुण्डा जातिको भाषा संरक्षणसँगै विकास गर्ने उद्देश्यले इच्छुक नयाँ पुस्तालाई भाषा सिकाउन थालेपछि चार वर्षअघि भाषा सिक्नकै लागि प्यूठानबाट दाङ आएकी हिमा अहिले भाषा बोल्न र लेख्नसँगै आफ्नो मातृभाषामा साहित्य समेत सिर्जना गर्नसक्ने भएकी छिन् ।
‘आफू कुसुण्डा भए पनि मलाई आफ्नो भाषा आउँदैनथ्यो, त्यसैले आफ्नो भाषा सिक्नुपर्छ भनेर प्यूठानबाट भाषा सिक्न दाङ आएकी थिएँ’, उनले भनिन्, ‘अहिले आफ्नो भाषामा कुरा गर्नुका साथै कविता समेत लेख्न सक्ने भएकी छु ।’ आफ्नो पुर्खाले बोल्ने गरेको भाषा सिक्ने र संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले नै आपूm भाषा सिक्न लागेको उनी बताउँछिन् । अहिले सामान्य औपचारिक कुरा गर्नदेखि लेखपढ गर्नसक्ने भएको उनले बताइन् ।
‘कुसुण्डा आफ्नो पुर्खाको भाषा भए पनि घरमा कोही नबोल्ने हुँदा मलाई आउँदैनथ्यो’, उनले भनिन्, ‘तर दाङमा आएर भाषा सिक्न थालेपछि अहिले बोल्नुका साथै लेख्न जान्ने भएको छु ।’ आपूmजस्तै साथीहरूसँग मिलेर भाषा सिक्दा सहज भएको उनी बताउँछिन् । ‘भाषा सिक्ने म मात्र छैन, मजस्तै १२ जना सिक्दै आएका छौ’, हिमाले भनिन् , ‘नयाँ भाषा भएकाले सिक्दा केही समस्या भए पनि रमाइलो लाग्ने गरेको छ ।’ सोही ठाउँ निवासी मनबहादुर कुसुण्डा पनि अहिले महेन्द्र माध्यमिक विद्यालयको होस्टेलमा बसेर कक्षा ११ पढाइसँगै कुसुण्डा भाषा सिक्दै आएका छन् ।
घरमा हुँदा कुसुण्डा भाषा भएको थाहा भए पनि आपूmलाई जानकारी दिनका लागि कोही नहुँदा सिक्नका लागि आएको बताए । ‘मलाई भाषा आउँदैनथ्यो तर आफ्नो पुर्खाले बोलेको भाषा सिक्नुपर्छ भन्ने लागेर आएको हुँ’, मनबहादुरले भने, ‘अहिले आफ्नो भाषामा बोलचाल गर्नसक्ने भएको छु, आफ्नो पुर्खाको भाषा सिक्ने सानैदेखिको चाहनाले यहाँसम्म आएको बताउँछन् ।’ हिमा र मनबहादुर मात्रै होइन भाषा आयोगको सहयोगमा लोपोन्मुख अवस्थामा पुगेको कुसुण्डा भाषा २० जनाले सिक्दै आएका छन् ।
उनीहरूले कुसुण्डा भाषा सिक्नुका साथै सामान्य रूपमा एकअर्कामा कुरा गर्नसक्ने भएको कुसुण्डा भाषाका विज्ञ एवम् अभियानकर्ता उदयराज आले बताउँछन् । नयाँ पुस्ताले सिक्न थालेपछि स्व ज्ञानीमैया कुसुण्डा र कमला खत्री कुसुण्डामा मात्रै सीमित भएको कुसुण्डा भाषा पुस्तान्तरण हुन थालेको समेत उनी बताउँछन् । उनकाअनुसार महेन्द्र माध्यमिक विद्यालयमा कुसुण्डा समुदायसँगै गैरकुसुण्डा समुदायका गरी १२ जना र घोराही उपमहानगरपालिका वडा नं १८ को सुपैलाखुटीमा ८ जना महिलाले कुसुण्डा भाषा सिक्दै आएको बताए ।
‘सामन्य रूपमा आफ्नो भातृभाषा बोल्न सकून् र भाषाको संरक्षण होस् भन्ने उद्देश्य हो’, अभियन्ता आलेले भने, ‘छोटो अवधिमा राम्रो प्रगति भएको छ । अधिकांश सहभागीले आफ्नो भाषामा बोल्न र लेख्न सक्नुहुन्छ ।’ व्यक्तिगत र भाषा आयोगको सहयोगमा आलेले कुसुण्डा शब्दकोष, कुसण्डा शब्दचित्र, कुसुण्डा पाठ्यक्रम, गेम्याक र सोजक गरी पाँच वटा पुस्तक समेत लेखेका छन् ।
सरकारले लोप हुन थालेका भाषा संरक्षण, सम्बद्र्धन र विकासका लागि यस प्रकारको कार्य गरिरहेको भाषा आयोगकी उपसचिव कमला भण्डारी पाण्डेले भनिन् । ‘कुसुण्डा भाषा लोपोन्मुख भाषाका रूपमा रहेको छ, यो भाषाको संरक्षण र विकास हुनुपर्छ भनेर हामीले तीन चरणको भाषा कक्षा चलाइसक्यौ, अब अन्तिम चरणको कक्षा सुरुवात गर्दै छौँ’, उपसचिव पाण्डेले भनिन, ‘जसले गर्दा नयाँ पुस्ताले भाषा सिक्नका साथै भाषाको संरक्षण सँगसँगै विकास होस् भन्ने हो ।’
भाषा कक्षा उपयोगी
यसैबीच भाषा आयोगको आयोजना तथा नेपाल कुसुण्डा विकास समाज दाङको संयोजनमा भएको कुुसुण्डा भाषा कक्षा सञ्चालसम्बन्धी अभिमुखीकरण गोष्ठीमा बोल्ने वक्ताहरूले लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा भाषा संरक्षण र विकासका लागि भाषा कक्षा अत्यन्त उपयोगी भएको बताएका थिए ।
उनीहरूले भाषा आयोगको सहयोगसँगै अभियन्ता उदयराज आलेले गर्दा स्वर्गीय ज्ञानुमैया कुसण्डा र कमला खत्री कुसुण्डा दुई जनामा सीमित रहेको कुसुण्डा भाषा पछिल्लो समय नयाँ पुस्ताले सिक्ने अवसर प्राप्त गरेको बताएका थिए । उनीहरूले सिकेको भाषालाई व्यवहारमा लागू गर्न सके भने कुसुण्डा भाषाको कक्षाले सार्थकता पाउने बताएका थिए ।
भाषा आयोगका सदस्य डा.अमर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उप–महानगरपाकिला प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले लोपोन्मुक अवस्थामा रहेको कुसुण्डा भाषाको संरक्षणसँगै विकासका लागि सम्बन्धित समुदायले चासो देखाएमा उप–महानगरपालिकाले सहयोग गर्ने बताए ।
कार्यक्रममा भाषा आयोगका सदस्य अमृत योञ्जन तामाङ, नेपाल कुसुण्डा समाजका अध्यक्ष धनबहादुर कुसुण्डा, महेन्द्र माध्यमिक विद्यालय धर्नाका प्रधानाध्यापक ऋषिराज अधिकारी, कुसुण्डा भाषाकी जानकार कमला कुसुण्डा, विद्यार्थी हिमा कुसुण्डालगायतले बोलेका थिए । भाषा आयोगका उपसचिव कमला भण्डारी पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यक्रमको उद्देश्यका बारेमा आयोगका अर्का उपसचिव माधवप्रसाद दाहालले गराएका थिए ।