नरैनापुरको मियापूर्वामा धार्मिक मेला सुरु
Saturday, February 4th, 2023, 3:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ माघ
बाँकेको नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा प्रत्येक वर्ष झै यस वर्षपनि उर्श(धार्मिक मेला) सुरु भएको छ ।
प्रत्येक बर्ष माघ महिनामा मजार विकास समितिले प्रसिद्ध बाबा आस्तान ए हजरत खलीफा नूर अहमद शाहकोे उर्स धुमधामको साथ मनाउदै आएको छ । माघ २० गतेदेखि सुरु भएको उर्समा नेपाल सहित छिमेकी मुलुक भारतका लाखौ धार्मिक श्रद्धालु(जाईरीन)हरुको सहभागिता रहेको छ ।
त्यसैगरी, उर्सको अवसरमा रातिको समयमा जलसा(धार्मिक प्रवचन) हुदै आएको छ भने भाकल गरेकाहरुले दैनिक रुपमा बाबाको मजारमा फतिहा, नियाज, तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् ।
बाँकेको नेपालगंज देखि करिव ४७ किलो मिटर पुर्वमा अवस्थित नरैनापुर गाँउपालिका–२ स्थित आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा लागेको उर्से पाक औलया–ऐ केरामको पहिलो दिन शुक्रवार लुम्बिनी प्रदेशका मन्त्री कृष्ण केसी नमूना र नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले संयुक्त रुपमा बाबाको मजारमा चादर चढाउँदै उर्सको उदघाटन गरे ।
मन्त्री नमूनाले माजार शरीफलाई धार्मिक स्थलको रुपमा विकास गर्नुपर्ने प्रतिबद्धता गरिन् ।

….
मजारलाई व्यस्थित बनाएको खण्डमा बाँकेको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउदै मन्त्री नमूनाले मजार शरीफमा खानेपानी, शौचालय, तथा धर्मशलाको काम प्रदेश सरकारबाट गराउने उदघोष गरेकी थिईन् ।
नरैनापुर गाँउपालिकाका अध्यक्ष एंव मेलाका संरक्षक इस्तियाक अहमद शाहले मजार शरीफ नेपालकै धार्मिक पर्यटकीय क्षेत्र मध्येका एक रहेको बताउदै मजार शरीफको विकास संघीय, प्रदेश र स्थानीय तीनै तहको सरकारले लगानी गर्नुपर्ने बताए ।
नरैनापुर १ का अध्यक्ष इसाक जोलाहले आस्तान ए हजरत खलीफा नूर अहमद शाह मजार बाँकेवासी वा प्रदेशवासीको मात्रै नभई यो सम्पूर्ण नेपालवासीको गौरव भएके बताए । यसको संरक्षण र प्रबद्र्धन गर्न सकेको खण्डमा मुलुकको आर्थिक तथा पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउदै उनले उर्समा सहभागी सबैलाई स्वागत गरेका थिए । उर्सलाई भव्य बनाउन नेपाल तथा भारतका प्रसिद्ध धार्मिक गुरुहरुलाई प्रवचनको लागि आमन्त्रण गरिएको मजार विकास समितिका संरक्षक रिजवान अहमद शाहले बताए ।
उर्समा सहभागी भएका श्रद्धालुहरुको खानेपानी, आवास तथा स्वास्थ्य उपचारको लागि विभिन्न शिविरहरु सञ्चालन गरिएको समितिका सदस्य गुफरान अहमद शाहलेजानकारी दिए ।
सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र करिव दुई सय स्वयमसेवक परिचालन गरिएको छ ।