मेयर कप क्रिकेटमा फाल्कोनको जित
Wednesday, February 8th, 2023, 6:31 pm
Kalpristha
नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट–२०७९
सौरभ राना
नेपालगन्ज, २५ माघ
नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा बुधबार फाल्कोन स्पोर्टस क्लबले जित हासिल गरेको छ । मंगलप्रसाद उच्च माविको खेल मैदानमा फाल्कोन स्पोर्टस क्लबले नेपालगन्ज थन्डर ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालगन्ज थन्डरले २०ओभरमा ९ विकेटको नोक्सानीमा १ सय १९ रन बनाएको थियो । नेपालगन्ज थन्डरका लागि फिरोज हास्मीले सर्वाधिक ३४ रन बनाए । ओपनर राहुल कनोजियाले १५ रन तथा गुडु केवटले १२ रनको योगदान गरे ।
वलिङ तर्फ फाल्कोनका लागि सुनिल चौहानले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द म्याच सुनिलले ४ ओभरमा १२ रन दिएका थिए । यसैगरी फाल्कोनका सुमन गुरुङले २ विकेट लिन सफल भएका थिए । जवाफमा फाल्कोनले १७.३ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य हासिल गरेको थियो । फाल्कोनका लागि नितेश विष्टले अविजित ३७ रनको योगदान गरे । उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । इमरान हलवाईले १७ रन, सुमन गुरुङले ११ रन र ओपनर राज कुमार थापाले १० रन बनाए ।

………..
नेपालगन्ज थन्डरका लागि मोहम्मद हुसेन खानले सर्वाधिक ३ विकेट, इमरान जरगरले २ विकेट लिन सफल भए । यसैगरी महिला तर्फको खेलमा बालशिक्षा स्कुलले वाल्कओभर दिएको छ । बिहिबार मंगलप्रसाद मावि र बालशिक्षाको खेल हुने तालिका रहेको थियो ।
प्रतियोगिता अन्तर्गत विहिबार पुरुष तर्फको खेलमा नेपालगन्ज–११ रकर्स विरुद्ध धारा मंगोलियन स्पोर्टस क्लबबिच प्रतिस्पर्धा हुनेछ । यसैगरी महिला तर्फ नेपालगन्ज मोडेल एकेडेमी विरुद्ध त्रिभुवन स्कुलबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए । बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुष तर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
त्यसैगरी महिला तर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिला तर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।
विहिबारको खेलः
नेपालगन्ज–११ रकर्स विरुद्ध धारा मंगोलियन स्पोर्टस क्लब (पुरुष)
नेपालगन्ज मोडेल एकेडेमी विरुद्ध त्रिभुवन स्कुल (महिला)