महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदर्शनी आयोजना गरिदैं
Wednesday, February 15th, 2023, 8:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ फागुन
महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्य सहित शुक्रबार देखि लुम्बिनी प्रदेश स्तरिय प्रदर्शनी–२०७९ नेपालगन्जमा सुरु हुने भएको छ ।
महिला उद्यमी संघ नेपाल, बाँकेले महिला उद्यमीहरुले संचालन गरेका उद्योग र व्यवसायलाई प्रवद्र्धन, प्रोत्साहन र प्रचार–प्रसार गर्न हरेक वर्ष प्रदर्शनी आयोजना गर्दै आएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक महिला उद्यमी संघ नेपाल, बाँकेले छैटौं संस्करणको प्रदर्शनी मेलाको सम्पुर्ण तयारी पुरा भएको बताएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरमा हुने मेला फागुन ५ देखि ९ गते सम्म चल्नेछ ।
प्रदर्शनीको तयारीबारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा महिला उद्यमी संघ नेपाल बाँके संस्थापक अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघको निर्वतमान अध्यक्ष भवनी राणा, नेपालगन्ज उप–महानगरपालिका निर्वतमान उपमेयर उमा थापा मगरको पनि उपस्थिती रहेको थियो ।
महिला उद्यमीलाई आत्मनिर्भर गराउँदैं उद्यममा लाग्न प्रोत्साहन गर्न प्रदर्शनीले महत्वपुर्ण सहयोग गर्दै आएको राणाले बताईन् । उनले भनिन,‘आज मलाई निकै खुसी लागेको छ । केहि नयाँ र पुराना महिला उद्यमीहरुसँग भेट भयो । महिला उद्यमीको विकासका लागि महिला उद्यमी संघले विगतदेखि नै सक्रिय भएर काम गरिरहेको छ । अहिले अझ धेरै साथीहरु सक्रिय भएको देख्दा खुसी लाग्छ ।’

………..
आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादनको क्षमता बढाउँदै बजारीकरणमा मिहिनेत गरे महिलाले उद्यमका क्षेत्रमा थप सफलता हासिल गर्न सक्ने उनले सुझाव दिईन् ।
महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रवद्र्धन तथा बजारीकरणका लागि आयोजना गर्न लागिएको प्रदर्शनीमा बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्युठान र सुर्खेत लगायतका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरु प्रदर्शनीमा राखिनेछ ।
यस वर्ष प्रदर्शनीमा पहिलो पटक सालको पातबाट बनाइएका दुना टपरी, सामुहिक खेती गरेर उत्पादन गरेको बेसार लगायतका उत्पादन प्रदर्शनीमा राख्ने तयारी भएको प्रदर्शनी संयोजक साबित्रा बस्नेतले बताईन । प्रदर्शनी आयोजनामा सहयोग गर्ने सम्पुर्ण संघ, संघसंस्थालाई धन्यवाद दिदैं संयोजक बस्नेतले मेला अवलोकन गर्न आईदिन सबैलाई अनुरोध गरिन् ।
प्रदर्शनीमा महिलाले उत्पादन गरेका थाकलको हाते ब्याग, सांस्कृतिक पहिचान झल्किने पोशाक, प्लाष्टिकको विकल्पमा वातावरण मैत्री सालको पातको टपरी, स्थानीय उद्योगीले निर्माण गरेको छालाको जुत्ता, चप्पल, महिला सहकारीको सहयोगमा उत्पादन गरिएको बेसार खेतीसँगै कला साहित्य, चाडपर्वमा मात्र पाईने र बनाइने नेपाली सांस्कृतिक परिकारको उत्पादन, लसुन र टिमुरको अचार लगायतका कुरा प्रदर्शनीमा राखिनेछ ।
यस पटक नव उद्यमी महिला उत्पादन गर्ने उद्देश्यले विद्यार्थीहरुलाई बिक्री वितरण गर्न सिकाउन दुई वटा स्टल पनि राखिने आयोजक महिला उद्यमी संघ नेपाल, बाँके अध्यक्ष निरुपमा रस्तोगीले बताईन् । प्रदर्शनीले उद्योग, व्यापारमा आउन चाहने महिला र उद्यम गरिरहेका महिलाहरुको क्षमता विकासमा समेत सहयोग गर्दै आएको अध्यक्ष रस्तोगीले बताईन् ।
मेलाका दौरान बाँकेका स्थानीय तहका उपप्रमुख, उपाध्यक्षसँगै सानो लगानीबाट महिला उद्यमी बन्न सफल तिन जना महिला उद्यमीलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

……………
शुक्रबार लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसीले उद्घाटन गर्ने प्रदर्शनीमा करिब ६० वटा स्टल राखिनेछ । नेपालगन्ज उप–महानगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आर्थिक सहयोगमा हुन लागेको मेलाले बजारीकरणमा सहयोग गर्ने प्रदर्शनी संयोजक बस्नेतले बताईन् ।

…………