बजारिकरणमा सहयोग गर्न सुरु हुदैं प्रदर्शनी
Friday, February 17th, 2023, 1:37 pm
Kalpristha
लुम्बिनी प्रदेश स्तरिय प्रदर्शनी–२०७९
सौरभ राना
नेपालगन्ज, ४ फागुन
महिला उद्यमीहरुलाई आत्मनिर्भरता तर्फ आकर्षित गर्ने उद्देश्य सहित आज देखि नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरिय प्रदर्शनी–२०७९ को सुरुआत हुदैंछ । नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा हुने मेलामा विभिन्न जिल्लाहरुबाट आएका महिला उद्यमीहरुले उत्पादन गरेको वस्तु तथा उत्पादनहरु प्रदर्शनीमा राखिनेछ । आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष निरुपमा रस्तोगिले छैठौं संस्करणको प्रदर्शनीले महिला उद्यमीहरुलाई हौसला प्रदान गर्दै आत्मनिर्भर बन्नमा सहयोग गर्ने विश्वास लिएको बताईन् ।
मेलामा महिला उद्यमीहरुले संचालन गरेका उद्योग, उत्पादन र व्यवसायलाई प्रवद्र्धन, प्रोत्साहन र प्रचार–प्रसार गर्नमा सहयोग पुग्ने उनले बताईन् । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरमा हुने मेला फागुन ९ गते सम्म चल्नेछ । प्रदर्शनीमा बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्युठान र सुर्खेत लगायतका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरु प्रदर्शनीमा राखिनेछन् ।
नेपालगन्ज उप–महानगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आर्थिक सहयोगमा हुन लागेको प्रदर्शनीमा करिब ६० वटा स्टल रहने आयोजकले बताएको छ । मेलाको उद्घाटन अवसरमा आज स्थानीय, प्रदेश र संघीय महिला सांसदहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रदर्शनी संयोजक साबित्री बस्नेतले बताईन् । आयोजकले संघीय सांसद आसा विक, लक्ष्मी तिवारी, दिपा शर्मा, लुम्बिनी प्रदेश सांसद माया पुन, मिना श्रेष्ठ, वसन्ती अधिकारी, सन्जु चौधरी, अम्बिका काफ्ले, मिना सिद्धिकी, सुशिला बादी, शायरा बानो, कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्ती श्रीवास्तव, जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय र राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुलाई सम्मान गर्ने प्रदर्शनी संयोजक बस्नेतले कालपृष्ठ दैनिकलाई बताईन् ।
यस वर्ष प्रदर्शनीमा पहिलो पटक सालको पातबाट बनाइएका दुना टपरी, सामुहिक खेती गरेर उत्पादन गरेको बेसार लगायतका उत्पादन प्रदर्शनीमा राख्ने तयारी भएको छ । प्रदर्शनीमा महिलाले उत्पादन गरेका थाकलको हाते ब्याग, सांस्कृतिक पहिचान झल्किने पोशाक, प्लाष्टिकको विकल्पमा वातावरण मैत्री सालको पातको टपरी, स्थानीय उद्योगीले निर्माण गरेको छालाको जुत्ता, चप्पल, महिला सहकारीको सहयोगमा उत्पादन गरिएको बेसार खेतीसँगै कला साहित्य, चाडपर्वमा मात्र पाईने र बनाइने नेपाली सांस्कृतिक परिकारको उत्पादन, लसुन र टिमुरको अचार लगायतका कुरा प्रदर्शनीमा राखिनेछ ।
यस पटक नव उद्यमी महिला उत्पादन गर्ने उद्देश्यले विद्यार्थीहरुलाई व्यापार र बिक्री वितरण गर्न सिकाउनको लागि दुई वटा स्टल राखिएको अध्यक्ष निरुपमा रस्तोगीले बताईन् । प्रदर्शनीले उद्योग, व्यापारमा आउन चाहने महिला र उद्यम गरिरहेका महिलाहरुको क्षमता विकासमा समेत सहयोग गर्दै आएको अध्यक्ष रस्तोगीले बताईन् । मेलाको समापनको अवसरमा सानो पुजीबाट उद्यम सुरु गरेर सफलता हासिल गरेका तीन जना महिला उद्यमीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।