बाँकेका अधुरा योजना तत्काल पुरा गर्न मन्त्री श्रेष्ठको निर्देशन
Friday, February 17th, 2023, 8:07 pm
Kalpristha
चन्द्र बोहरा
नेपालगन्ज, ५ माघ
नेपाल सरकारका उप–प्रधानमन्त्री, भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बाँकेमा रहेका सरकारका महत्वपुर्ण योजनाहरुको अनुगमन गरेका छन् ।
सामाजिक न्याय सहितको समृद्धि हासिल गर्नमा सरकारले काम गर्ने योजना अगाडी सारेको बताए । बाँकेमा रहेको अपुरा भौतिक पुर्वाधारको कामहरुलाई तत्काल छिटो सम्पन्न गर्नको लागि सम्बन्धित निकायलाई श्रेष्ठले निर्देशन दिएका छन् ।

………..
मन्त्री श्रेष्ठले शुक्रबार खजुरा गाउँपालिकाका जनप्रतिनिधिसँग भेटघाट गर्ने क्रममा पेडारी नालाको पुल निर्माणको बारेमा नयाँ डिजाइन बनाएर काम गर्न निर्देशन दिए ।
मन्त्री श्रेष्ठले शुक्रबार नेपालगन्ज–गुलरिया सडक खण्ड, परसपुर–गौघाट सडक खण्ड लगायतका योजनाहरुको अनुगमन गरेका थिए ।
मन्त्री श्रेष्ठलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफानले स्वागत गरेका थिए । माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले स्थानीय समस्या र भौतिक पुर्वाधारको अवस्थाहरुका बारेमा अवगत गराएका थिए ।
भेटघाटका क्रममा अध्यक्ष विकले नेपालगन्ज गुलरिया सडक खण्डको खजुरा बजारको १८ सय मिटर बाटो निर्माणमा ढिलाई भएकोले तत्काल पुरा गर्न अनुरोध गरेका थिए । उक्त बाटो निर्माणका लागि २०७४ सालमा ठेक्का भएको थियो । उनले २०७७ सालमा योजना सम्पन्न गर्नु पर्नेमा हाल सम्म नभएको भन्दैं त्यसलाई तत्काल पुरा गर्नमा अनुरोध गरे । ५ वर्ष बित्दा १८ सय मिटर बाटो नबन्दा खजुराका जनताले दुःख पाईरहेको भन्दैं त्यसमा ध्यान दिन मन्त्रीलाई आग्रह गरे ।
मन्त्रीले सडक डिभिजन कार्यालय प्रमुखलाई तत्काल उक्त सडक निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् । परसपुर गौघाट सडक खण्ड समयमा निर्माण नहुँदा स्थानीय जनताले निकै परेसानी भोग्नु परिरहेको बताउँदैं मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।
भेटघाटका क्रममा खजुरा गाउँपालिका वडा अध्यक्षहरुले वडाका मुख्य समस्याहरुको बारेमा बताएका थिए । खजुरा गाउँपालिका वडा नम्बर १ अध्यक्ष मनवीर क्षेत्रीले मन्त्री श्रेष्ठलाई वडाका भौतिक पुर्वाधार निर्माणमा बजेट अभावका कारण रोकिएको भन्दैं त्यसलाई पुरा गर्न सहयोग गर्न आग्रह गरेका थिए ।

……….