शिक्षक संघ बाँकेको अध्यक्षमा ऋषिराज शर्मा विजयी
Saturday, March 18th, 2023, 9:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ फागुन
नेपाल शिक्षक संघ बाँकेको नवौं अधिवेशनबाट अध्यक्षमा ऋषिराज शर्मा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट शर्माले ६ सय ७९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
शर्माका निकटतम् प्रतिद्वन्दी शेखरबहादुर रावतले २ सय ८२ मत पाए । शर्मा यसअघि सचिव र रावत उपाध्यक्ष थिए । यसैगरि सचिवमा चन्द्रबहादुर एरी निर्वाचित भएका छन् । उनले ५ सय ७६ मत पाउँदा उनका प्रतिद्वन्दी हरिप्रसाद अधिकारीले ३ सय ७६ मत पाए ।
सहसचिवमा रमेशकुमार विसी ४ सय १६ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्दीहरु प्रदिपकुमार खत्रीले ३ सय २३ र गोविन्दराज पौडेलले २ सय १७ मत पाएका छन् ।
शिक्षक संघ बाँकेमा १२ हजार ५७ मतदाता रहेकोमा ९ सय ९० जनाले मतदान गरेको शाहीले जानकारी दिएका छन् । खसेको मत कुल मतको ७८.७५ प्रतिशत हो । सर्वसम्मतका लागि एक सातासम्मको प्रयास भएपनि त्यो विफल भएपछि शनिबार तीन वटा पदमा मतदान गराइएको थियो । गत शनिवार नै संघको नवौं अधिवेशन उदघाटन गरिएको थियो ।
उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव अर्थ, सहसचिव महिला, सहसचिव अर्थ महिला भने निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा मनोजराजा श्रीवास्तव, महिला उपाध्यक्षमा तारा थापा, सचिव अर्थमा पुस्करराज खड्का, सहसचिव महिलामा शोभा मल्ल र सहसचिव अर्थ महिलामा यशोदा शाह निर्विरोध निर्वाचित भएका थिए । शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संगठन हो ।