स्ववियु निर्वाचन
Sunday, March 19th, 2023, 5:00 am
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, ४ फागुन
स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचन आज देशभरका विभिन्न क्याम्पसहरुमा हुँदैछ । जस अन्तर्गत बाँकेमा पनि पाँचवटा क्याम्पस मध्ये ४ वटा क्याम्पसमा आज निर्वाचन हुँदैछ । मध्यपश्चिम विश्वविद्यालय (एमयु) अन्तर्गतका क्याम्पसहरुमा यसअघि शुक्रबारका लागि निर्वाचनको मिति तोकिए पनि बिहीबार दिउँसो विश्वविद्यालयले स्थगित गर्ने निर्णय गरेको थियो । निर्वाचन स्थगितको चर्को विरोध भएपछि विश्वविद्यालय पछि हटेर शुक्रबार फेरि चैत ५ गते निर्वाचन गर्ने मिति तोकेको थियो ।
यद्यपी जिल्लामा सबैभन्दा बढी विद्यार्थी रहेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भने स्ववियु निर्वाचन चैत ८ गते हुनेछ । महेन्द्रमा चार हजार एक सय २२ जना मतदाता रहेका छन् । जहाँ २५ जना प्रत्यक्ष र ३१ जना समानुपातिक गरि ५६ जना निर्वाचित हुनेछन् ।
२०६५ साल यता महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । बाँकेकै सबैभन्दा पुरानो क्याम्पसका रुपमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सभापतिका लागि ५ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत ठण्डीराज जमरकट्टेलले जानकारी दिए ।
कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा आईतबार नै निर्वाचन हुँदैछ । जसको सभापतिका लागि यहाँ चारजना उम्मेदवार छन् । आठवटा संगठन दर्ता भएको यस क्याम्पसमा सभापतिका लागि भने अनेरास्ववियु र अनेरास्ववियू (समाजवादी)को संयुक्त प्यानलबाट देवेन्द्रबहादुर बुढाको नेतृत्वको समुह निर्वाचन लड्दै छ । भने, नेविसंघ र अखिल क्रान्तिकारी भने एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् । नेविसंघबाट टीकाकुमारी शाही र क्रान्तिकारीबाट लक्ष्मण आचार्य सभापतिका उम्मेदवार छन् । बागेश्वरीमा ११ सय ९२ जना मतदाता रहेका छन् ।
त्रिभुवन बिश्वबिद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्र्तगतको नेपालगन्ज नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ‘अनेरास्ववियु’को तर्फबाट निलिमा गिरि सभापतिको उम्मेदवार छिन्् । सोहि क्याम्पसमा अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ र अनेरास्ववियू (समाजवादी) को संयुक्त प्यानल निर्माण गरि निर्वाचनमा सहभागी हुदैंछन् । सो प्यानलले अखिल क्रान्तिकारीका दिपिका सोनीलाई सभापतिमा अघि सारेको छ । यहाँ एक सय ६१ मतदाता रहेको निर्वाचन अधिकृत कल्पना पौड्यालले जानकारी दिएकी छन् ।
दुईसय सात जना मतदाता रहेको जन सिद्देश्वर बहुमुखी क्याम्पस हब्रहवामा सभापति पदका लागि पाँचजना चुनावी मैदानमा रहेका छन् । नेविसंघले अन्य दुई संगठनसँग गठबन्धन गरेर उम्मेदवार उठाएको छ । भने, अन्य चार संगठनहरुले भने एक्ला–एक्लै उम्मेदवार उठाएका छन् । नेविसंघले अनेरास्ववियु र नागरिक विद्यार्थी समाजको संयुक्त प्यानलमा निरा थारुलाई सभापतिमा अगाडि सारेको छ । अनेरास्ववियुले हस्तबहादुर घर्तीलाई सभापतिको उम्मेदवारका रुपमा अघि सारेको छ भने, अनेरास्ववियु क्रान्तिकारीले लालु थारु, अखिल क्रान्तिकारीले ईन्द्रबहादुर थारु, र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुधिराम थारुलाई सभापतिका रुपमा अगाडि सारेका छन् । ३० जना प्रत्यक्ष २२ जना समानुपातिक गरि यहाँ ५२ जना निर्वाचित हुनेछन् ।
दुई सय २९ जना मतदाता रहेको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा तीनवटा विद्यार्थी संगठनहरु चुनावी मैदानमा छन् । सभापतिका लागि यहाँ अनेरास्ववियुले विनय कुमार यादव, नेविसंघले हिमाल पंगाली र अखिल क्रान्तिकारीले सरिफ खाँलाई उम्मेदवार बनाएको छ ।
आइतबार बाँकेमा रहेको नर्सिङ क्याम्पस नेपालगन्ज, खजुरा स्थित ज्ञानोदय क्याम्पस र राप्तीपारीको सिद्वेश्वरी बहुमुखी क्याम्पस तथा कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुदैछ ।