डोल्पामा लिण्डे सागमा प्रति बढ्दो आर्कषण
Sunday, March 19th, 2023, 6:15 pm
Kalpristha
बिष्णुप्रसाद देबकोटा
डोल्पा, ५ चैत
हिमाली जिल्ला डोल्पाको त्रिपुराकोटका खेतका गडाहरुमा शनिवारको दिन बालबालिकाहरु प्रशस्त देखिन्छन । देख्दा लाग्छ उनीहरु हरियालीमा रमाइरहेका छन । तर वास्तविकता प्रकृति प्रदत्त सवारी साग टिप्नको लागि खेतका गडाहरुमा चहारिरहेका हुन्छन् उनीहरु । पछिल्लो समय प्रकृतिप्रदत्त सवारी साग प्रति मानिसहरुको आर्कषण बढ्दै जान थालेको छ । जसले गर्दा शनिवार स्कुले बालबालिका र अन्य दिनहरुमा महिला पुरुषहरु खेतका गडाहरुमा साग टिप्दै गरेको देख्न सकिन्छ ।
खेती गरिरहनु नपर्ने प्रकृतिले नै डोल्पाका बनपाखा र खेतवारीको कान्लाको डिलमा उमारि रहेको सवारी साग अर्थात लिण्डे साग पछिल्लो समयमा मानिसहरुको प्राथमिकतामा पर्दै आएको छ । फागुनको दोस्रो सातादेखि सवारी सागका पारखीहरु खेतका गडाहरुमा देखिदै आएकोमा यो वर्ष खडेरीका कारण साग ढिला पलाएकाले चैतको पहिलो सातावाट साग टिप्नेहरुको जमात देखिन थालेको हो । यो साग बिशेष गरि डोल्पाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट, खदाङ्ग ठुलीभेरी नगरपालिकाको मोतिपुर, जुफाल र दुनैमा पाइन्छ ।
बाह्रैमास उम्रिरहने र खानाको लागि स्वादिष्ट मानिने सवारी साग(लिण्डे)को सेवनले पाचन प्रणालीमा सहयोग गर्नुका साथै ग्याष्टिक र रक्तअल्पता हुन नदिनको लागि मानव जीवनमा सहयोग गर्ने स्थानीय बयोबृद्द रबिप्रसाद न्यौपाने बताउँछन् । हिमाली जिल्लाका बासिन्दाको लागि बाह्रैमास हरियो सागको रुपमा पाइने भएकाले स्वास्थ्यको लागि बहुउपयोगी सब्जीको रुपमा लिण्डे(सवारी साग)लाई लिने गरिन्छ । त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटका बनपाखा र खेतवारीको कान्लाको डिलहरुमा यत्तिखेर यो साग टिप्नको लागि महिला र बालबालिकाहरु ब्यस्त देखिन्छन् ।
डोल्पाका लिकु, पहडा, माझफाल, सहरतारा, रह, काइगाउँ लगायतका स्थानहरुबाट लिण्डे अर्थात सवारी साग टिप्नको लागि मानिसहरु त्रिपुराकोटमा आउने गर्छन । लिण्डे अर्थात सवारी सागलाई स्थानीय भाषामा कसै कसैले लसुनी साग पनि भन्ने गर्छन । लसुनको गुण र बिशेषता पाइने भएकाले यसलाई लसुनी साग भन्ने गरेको स्थानीय बताउँछन् ।