‘एक दशक देखिको विवाद मिलाएर बाटो बनायौं’
Sunday, May 14th, 2023, 10:30 am
Kalpristha
कालपृष्ठ संवादमा
वडा अध्यक्ष बद्री प्रसाद जैशी
संघियता पछि जनताको सबैभन्दा नजिकको सरकार भनेको वडा हो । वडा मार्फत स्थानीयले आ–आफ्ना राजनीतिक, प्रशासनिक, आर्थिकलगायतका सेवा लिईरहेका हुन्छन् । वडा स्तरमा भए गरेका कामहरुको दायित्व वडाका जनप्रतिनिधिको हुन्छ, भने वडामा स्थानीयस्तरमा थुप्रै काम गर्नुपर्ने हुन्छ । यसै सन्दर्भमा कोहलपुर नगरपालिका वडा नम्बर–१ले गरेका विकास निर्माणका काम तथा काम गर्दा आईपर्ने समस्याबारे वडाध्यक्ष बद्री प्रसाद जैसीसँग गरिएको कालपृष्ठ संवाद ।
वडाले एक बर्षमा के–के काम गर्यो ?
पहिले दुई–तिन किलोमिटर पनि गतिलो बाटो थिएन । तर, हामी आईसकेपछि हामीले अहिलेसम्म सबै बाटाहरु निर्माण तथा स्तरोन्नती गरेर यहाँका जनताहरुलाई हिलो र धुलोबाट मुक्त गरेका छौं । यहाँका बाटाहरुमा केन्द्र र प्रदेशबाट योजना ल्याएर नालीको निर्माण गरेका छौं । अहिलेसम्म कार्यालयमा अनलाईन प्रणाली थिएन । हामीले त्यसको सुविभा अहिले दिएका छौं । यस अघि नागरिकता फोटोकपी गर्नपनि कोहलपुर आउनु पथ्र्यो । अहिले त्यस अवस्थाको अन्त्य गरेका छौं । एक सय दुई जना जेष्ठ नागरिकहरुलाई जाडोमा ज्याकेट वितरण गर्यौं । स्वास्थ्य संस्था तथा विद्यालयहरुमा शौचालय तथा धाराहरु निर्माण गरेका छौं । हामीले नगरभरिमै पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरुका लागि बजेट छुट्टयाएर काम गरिरहेका छौं । संगसंगै हामीले वडाबाट हुने सेवा प्रवाहलाई समेत झन्झटिलो नबनाईकन लाईन लाग्नु नपर्ने गरि प्रभावकारी तरिकाले सेवा दिईरहेका छौं ।
त्यसमध्ये वडाले गरेको महत्वुर्ण काम के हो जस्तो लाग्छ तपाईलाई ?
करिब १० बर्षदेखि विवादमा रहेको बाटोलाई हामीले विना शर्त विवाद सुल्झाएर अहिले कालोपत्रे गरिसकेका छौं । एक दशक पुरानो विवाद मिलाउनु यो सबैभन्दा महत्वपुर्ण काम हो जस्तो लाग्छ मलाई । किनभने, करिब एक सय २० मिटरको बाटोमा उत्पन्न विवादलाई अघिल्लो कार्यकालका जनप्रतिनिधीहरुले सहमतिमा ल्याउन सक्नुभएको थिएन । तर, हामीले सौहार्दपुर्ण वातावरणमा विवादको समाधान गर्यौं र अहिले बाटो बनेको छ । अर्कोकाम भनेको अहिलेसम्म १० हजार रुपैंया पनि संघ र प्रदेशबाट ल्याउन सकिएको थिएन । तर, वडाका खानेपानी, नाला तथा अन्य समस्यालाई मध्येनजर गर्दै हामीले प्रदेश सरकारबाट करिब ढाई करोड रुपैंया ल्यायर खर्च गरिसकेका छौं । करिब सात ठाउँका लागि हामीले समरसेलको व्यवस्था गर्दैछौं । हाम्रा उत्कृष्ट कामहरु भनेका यिनै हुन् ।

…………….
जनप्रनिधिका रुपमा काम गरिरहँदा कस्ता–कस्ता समस्या आउने रहेछन ?
व्यक्तिमा सन्तुष्टि सम्भव हुदैनँ । तर, बढी भन्दा बढी जनता खुसी र सुखी बनाउने हाम्रो लक्ष्य हो । हाम्रो सबैभन्दा ठुलो समस्या भनेको बजेटको समस्या हो । किनभने हामीले काम गर्ने नगरको एउटा वडा मात्रै हो । हाम्रा आफ्नै सिमा छन् । हाम्रो भागमा परेको बजेट हामीलाई थोरै नै हुन्छ । त्यसले केहि पुग्दैन । तरपनि, हामी दौडधुप मै छौं । हामीलाई अर्को समस्या भनेको कार्यपालीकामा आफ्नो बहुमत नपुग्दा हामीले सोचे अनुरुपको विकास गर्न सकिरहेका छैनौं । जनतामा पनि चेतनाको कुराहरुमा कमी भएका कारणले हामीलाई विकास निर्माणका काममा प्रत्यक्ष असर परिरहेको छ । बाटा पक्की खोज्ने तर, बाटोका लागि एक ईन्च पनि ठाँउ नछोड्ने प्रवृति यहाँका जनतामा छ । अनि जनताले सबैकुरा वडाले गरिदिएको भए हुन्थ्यो भन्ने अपेक्षा पनि हुने रहेछ । तर, वडाको क्षमता भन्दा बाहिरका कुराहरु पनि जनताले वडाबाट अपेक्षा गर्दाखेरी हामी त्यसमा असफल जस्तो भईने हुन्छ ।
वडाले अवका दिनमा कस्ता कामहरुलाई प्राथामिकतामा राखेको छ ?
अब सबै काम सकियो मेरो वडामा गर्नुपर्ने काम केहि छैन भन्ने अवस्था कहिल्यै आउँदैन । किनभने अहिले बनाएको नाला र बाटो दुई–चार बर्षमै पनि भत्किन सक्छ । अस्तिमात्रै मैले संघमा गएर करिब १० करोड बराबरको प्रपोजल हालेको छु । त्यो पैसा आउने काम भयो भने अवको एक बर्षलाई भौतिक पुर्वाधारको विकास मात्रै गर्ने भन्ने मेरो लक्ष्य हो । त्यसपछि अन्य कुराको विकासका लागि आवश्यकताको वर्गिकरण गरेर जुन कुरा बढी आवश्यक छ । त्यसतर्फ मेरो ध्यान जाने छ । किनभने सामाजिक विकास तर्फ पनि हामीले थुप्रै कामहरु गर्नुपर्ने छ ।
अन्य वडामा भन्दा यहाँ भुमि सम्बन्धि समस्या धेरै नै छ । यस विषयमा के भईरहेको छ ?
तपाईले भनेजस्तै यस वडाको भौगोलिक क्षेत्रको कुल क्षेत्रमा कम्तीमा पनि ९९ प्रतिशत जग्गा ऐलानी जग्गा छ । यस समस्याको यथाशिघ्र समाधान हाम्रो पनि चिन्ता र चासोको विषय हो । किनभने यहाँ करिब ४०–५० साल अघिदेखिको बसोबास छ । मेरो चुनाबको मुख्य एजेण्डा मध्यको एक एजेण्डा भुमिसम्बन्धि समस्या तिन महिना भित्रै समाधान गर्छु भन्ने थियो । हाम्रो वडामा पहिलो चरणमा १ सय ५० घरधुरीलाई लालपुर्जा वितरण गर्ने र त्यसपछि थप १ हजार २ सय घरधुरीलाई लालपुर्जा वितरण गर्ने हाम्रो योजना थियो । तर, पुर्जा वितरणका लागि सबै काम भईसकेपछि वन कार्यालयसंग भुमि आयोगको कानुन बाझिँदा हामीले जितेको एक बर्ष सम्म पनि त्यो काम गर्न सकेका छैनौं । तर, समाधानको प्रयास र पैरवी भने जारी छ । किनभने, अव जनता आजित भैसके । लालपुर्जा वितरण गर्न सकिन भने मैले राजनितिबाट सन्यास लिएपनि हुन्छ ।
अबको लक्ष्य ?
हाम्रो कार्यकालपछि जनताले वडामा देखिने गरि परिवर्तन महसुस गर्ने कुरामा हामी ढुक्क छौं । हाम्रो एकमात्र लक्ष्य भनेको जनताको सेवा र वडाको चौतर्फी विकास हो । तर, हाम्रा असिमित आवश्यकता र सिमित श्रोत साधनका विच हेरौं, के कत्ति काम गर्न सकिन्छ ।
प्रस्तुती: लक्ष्मी तिमिल्सिना