टोल कमिटीसँग योजना माग्दैं १२ नम्बर वडा
Sunday, May 14th, 2023, 8:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३१ वैशाख
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१२ ले वडाको विकास र समृद्धिको लागि योजना निर्माण गर्ने उद्देश्यले टोल कमिटीसँग अन्तरक्रिया गरेको छ । आइतबार नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा भएको अन्तरक्रिया कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका–१२ मा रहेका १३ टोल कमिटीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रियाको अवसरमा टोल स्तरीय संस्थालाई वडा अध्यक्ष तरुण बज्रचार्यले प्रमाणपत्र वितरण गरेका थिए । वडा भित्र रहेका हरेक टोलको समस्या पहिचान गर्दै समाधान गर्ने जिम्मेवारी सहित टोल कमिटी गठन गरिएको थियो । संघीय संरचना अनुसार वडाभित्र पनि टोल कमिटी गठन गरेर काम गर्नु पर्ने संविधानमा व्यवस्था गरिएको छ ।
टोल कमिटीमा ११ सदस्यीय कार्यसमिति रहेको छ । वडा भित्रको विभिन्न टोलहरु भित्रका सामाजिक, आर्थिक, सांस्कृतिक र वातावरणीय सुरक्षासँग सम्बन्धित विषय वस्तु र समस्याहरुलाई संगठित भएर समाधान गर्नको लागि टोल कमिटीको अवधारणाको विकास भएको वडा अध्यक्ष बज्राचार्यले बताए । जसले योजना माग गर्ने, सल्लाह, सुझाव संकलनमा महत्वपुर्ण सहयोग गर्ने गरेको उनले बताए ।
अध्यक्ष बज्राचार्यले भने,‘टोल कमिटीसँगको अन्तरक्रिया हाम्रो लागि निकै महत्वपुर्ण छ । जहाँ हामीले वडा समितिले भोगिरहेको समस्या, त्यसलाई कसरी समाधान गर्ने भन्ने बारेमा सल्लाह, सुझाव संकलन गरेका छौं । यसले वडालाई समृद्धि बनाउन सबैसँग राय लिएर योजना बनाउन हामीलाई सहयोग गर्नेछ ।’

…………..
आइतबारको अन्तरक्रियाले आगामी आर्थिक वर्ष वडाभित्रको नीति तथा कार्यक्रम निर्माणमा सहयोग गर्ने उनले बताए । अन्तरक्रियामा नेपालगन्ज उप–महानगरपालिका सामाजिक विकास शाखा अधिकृत कृष्ण प्रसाद जोशीको सहभागिता रहेको थियो । वडा सचिव दिपेन्द्र श्रेष्ठले सहजीकरण गरेको अन्तरक्रियामा टोली कमिटीका पदाधिकारीले राखेका जिज्ञासा र प्रश्नको जवाफ वडा अध्यक्ष तरुण बज्राचार्यले दिएका थिए । वडा भित्र भएका विकास निर्माणका योजना कार्यान्वयनको अवस्था र आगामी योजनाको बारेमा उनले टोल कमिटीका पदाधिकारीलाई अवगत गराएका थिए ।

……………..