जानकीमा स्वयंसेवी रक्तदाता समाज उपशाखा गठन
Saturday, June 10th, 2023, 6:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
जानकी, २७ जेठ
जानकी गाउँपालिकामा शनिबार गाउँपालिकास्तरीय स्वयंसेवी रक्तदाता समाजको उपशाखा गठन गरिएको छ । “रक्तदान जीवनदान” भन्ने कार्यलाई व्यापक्ता दिन समाजको उपशाखा जानकीमा गठन गरिएको हो ।
पालिकाका स्वस्फुर्तरुपमा रक्तदान गर्दै आएका युवाहरुको भेलाले धर्मराज बर्माको नेतृत्वमा ११ सदस्यीय उपशाखा गठन गरिएको छ । गठित उपशाखाको उपाध्यक्षमा राजित राम अहिर, सचिवमा धर्मेन्द्र कुमार बर्मा, कोषाध्यक्ष पदमा सुनिल कुमार बर्मा चयन भएका छन् ।
यस्तै सदस्यहरुमा क्रमश : बिनोद काँदु, आवाद सिद्धिकी, गोबिन्द्र नाउँ, प्रमोद कुमार यादव, नन्कउ यादव, सुनिल बर्मा र रामबलि गडरिया रहेका छन् । यसैगरी भेलाले उपशाखालाई सक्रिय बनाउन आवश्यक सल्लाह सुझाव तथा मागदर्शनका लागि नौं जनालाई सल्लाहकार चयन गरेको छ ।
सल्लाहकारमा जानकी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष राज कुमार बर्मा, जानकी ५ का निवर्तमान वडा अध्यक्ष रमेश कुमार बर्मा, वडा सदस्य हुसेनी यादव, खजुराखुर्द प्रहरी चौकीका प्रमुख (नविन प्रसाद रिजाल), बिभिन्न सामाजिक कार्यमा सक्रिय युवाहरु राजन बर्मा, सन्तोष यादव, जितेन्द्र राढ, लक्ष्मण प्रसाद चमार र ओमकार बर्मा रहेका छन् । बाँकेमा स्वयंसेवी रक्तदाता समाजले सक्रियता बढाएको छ । सक्रियता बढाएसंगै जिल्लाका बिभिन्न स्थानीय तहहरुमा समाजको उपशाखा गठन कार्य अगाडी बढेको छ । समाजका जिल्ला अध्यक्ष दिला शाहले रक्तदान अभियानलाई बृहत र नियमित बनाउन बिभिन्न कार्य शुरु गरिएको बताइन् ।
समाजमा नियमित रुपमा रक्तदान गर्ने मानिस धेरै छन् । जोखिममा परेका र रहने व्यक्तिलाई यतिले मात्रै नपुग्ने हुँदा यो रक्तदान कार्यलाई व्यापक्ता दिँदै ग्रामीण भेगका कुना कुनामा रहेका व्यक्तिहरुमा रक्तदान गर्नुपर्ने भावना जागृत गराउने हेतुले यस प्रकारको प्रयासको थालनी गरिएको अध्यक्ष शाहले बताइन् । भेलालाई सम्बोधन गर्दै जानकी ३ का वडा अध्यक्ष राज कुमार बर्माले रक्तदान, महादान कार्यमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले यो कार्यमार्फत धेरै व्यक्तिको ज्यान जोगाउन सकिने र योभन्दा ठुलो सामाजिक कार्य अरु कुनै हुनै नसक्ने हुँदा यो अभियानलाई सक्रिय रक्तदाता, समाजका अगुवा, बुद्धिजीवी सबैको साथ सहयोग आवश्यक रहको बताए ।
आफ्नो सक्रियतासंगै समाजले बाँकेको कोहलपुर नगरपालिकामा उपशाखा गठनको पहल शुरु गरिसकेको छ । यस्तै खजुरा गाउँपालिकामा यसअघि नै उपशाखा गठन भइसकेको छ भने शनिबार जानकी गाउँपालिकामा उपशाखा गठन गरिएको छ । जानकीमा भएको भेलामा समाज बाँकेका सल्लाहकार एवं समाजसेवी माधवराम बर्मा, समाज बाँके अध्यक्ष शाह, उपाध्यक्ष मन बहादुर केसी, सचिव भिष्म लोध, कोषाध्यक्ष मनमोहन बर्मा, जिल्ला कार्यसमिति सदस्य होमराज गिरीको उपस्थिति रहेको थियो । यस्तै यही जेष्ठ ३१ गते समाजले बिश्व रक्तदाता दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपालगन्ज–१८ कारकाँदोमा आयोजना हुने रक्तदान कार्यक्रममा सहभागि हुन सबैमा अनुरोध गरेको छ ।