सिकलसेल एनिमियाका बिरामीका निःशुल्क स्वास्थ्य बिमा गरिने
Saturday, June 10th, 2023, 7:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ जेठ
बाँकेको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाले सिकलसेल एनिमियाका बिरामीको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेले सिकलसेलका बिरामीको खोजी गरेर कार्ड वितरणसँंगै रोगबारे परामर्श दिने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा रगत जाँच र रिपोर्ट सार्वजनिक गर्ने अभियान सञ्चालन गरिरहेको छ । सो क्रममा बिरामी र वाहक ठुलो संख्यामा भेटिएपछि उपचारमा सहजताका लागि कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको हो । आर्थिक वर्ष २०८०÷८१ देखि दुवै पालिकाभित्र रहेका सिकलसेलका बिरामीको पालिकाले निःशुल्क बिमा गर्ने घोषणा गरेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठका अनुसार कोहलपुर नगरपालिकाले यसअघि बिमा गर्ने कुराको घोषणा गरिसकेको छ भने राप्तीसोनारी गाउँपालिकाले अहिले सो घोषणा गरेको हो । राप्तीसोनारी गाउँपालिका–२, कचनापुर स्वास्थ्य चौकीमा स्वास्थ्य कार्यालय बाँकेद्वारा आयोजना गरिएको सिकलसेल एनिमियाका बिरामीको रिपोर्ट सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले पालिकाभित्र रहेका सिकलसेलका बिरामीको निःशुल्क बिमा गरिदिने बताए ।
अधिकृत श्रेष्ठले राप्तीसोनारीका थारू बाहुल्य चार वटा वडामा करिब तीन हजार ३१३ जनाको रगत जाँच गर्दा ११ जना सिकलसेलका बिरामी र ३७६ जना रोगका वाहक फेला परेको बताए । उनले यो संख्या धेरै नै भएको जनाउँदै विवाहपूर्व रगत जाँच गरेर मात्रै रोगलाई फैलिनबाट रोक्न सकिने बताए ।
स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो पटक वडा नम्बर ६ कमैयाडाँडामा ६३१ जनाको नमुना जाँच गर्दा दुई जना रोगी र ३६ जना वाहक फेला परेका छन् भने वडा नम्बर–२, कचनापुरमा ४८७ जनाको नमुना जाँच गर्दा तीन जना रोगी र ४४ जना वाहक फेला परेका छन् ।
यस्तै गत वर्ष वडा नम्बर ३ र ४ मा दुई हजार १९५ जनाको नमुना जाँच गर्दा छ जना रोगी र २९१ जना वाहक फेला परेका थिए । थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा देखिएको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले विज्ञहरूलाई गाउँघरमै पु¥याएर स्थानीयवासीलाई सचेत बनाउने काम गरिरहेको छ ।