खजुरामा पुर्व प्रहरीहरु संगठित
Saturday, June 10th, 2023, 8:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २९ जेठ
बाँकेको खजुरा गाउँपालिमा पुर्व प्रहरीहरु संगठित भएका छन् । शनिबार खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित ज्ञानोदय क्याम्पस परिसरमा भएको भेलाले पुर्व प्रहरी खजुरा गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरेको छ ।
पुर्व प्रहरी नायव निरिक्षक कृष्णमान श्रेष्ठको अध्यक्षमा बसेको भेलाले खजुरा गाउँपालिका स्तरीय पुर्व प्रहरी संगठनको तदर्थ समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा दुर्गा राना, उपाध्यक्षमा मीना विक, सचिवमा राम बहादुर शाही, कोषाध्यक्षमा तुलाराम गिरी, सह–सचिवमा प्रेम बहादुर थापा, सह–कोषाध्यक्षमा बल बहादुर सुनारलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । समितिको सदस्यहरुमा लंक बहादुर हमाल, भुपेन्द्र सुनार, हरि बहादुर सुनार, नन्द लाल थापा, केबल राम पुन, गोपाल बहादुर सुनार, राम बहादुर थापा, महावीर खत्री र वीरध्वज गुरुङलाई चयन गरिएको छ । शनिबार गठन गरिएको तदर्थ समितिले ६ महिनामा अधिवेशन गरेर नयाँ कार्यसमिति गठन गर्नेछ ।
शनिबार भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुर्व प्रहरी संगठनका केन्द्रिय सदस्य पुर्व प्रहरी निरिक्षक धर्मराज सुनार, पुर्व प्रहरी निरिक्षक अर्जुन सिंह पाण्डे, पुर्व प्रहरी बाँके जिल्ला कार्यसमितिका उपाध्यक्ष पुर्व प्रहरी निरिक्षक दिल बहादुर खत्री, प्रजातन्त्र सेनानी टेक बहादुर कार्की लगायतको उपस्थिती रहेको थियो । भेलामा ५० जना भन्दा बढी पुर्व प्रहरीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि र अतिथिहरुले पुर्व प्रहरीले समाजमा विभिन्न अपराध, कानुन विपरितका क्रियाकलाप रोक्दै समाजमा शान्ति सुरक्षा कायम गर्न सहयोग गर्ने भएकोले वर्तमान प्रहरी संगठनले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताएका थिए । पुर्व प्रहरीलाई राज्यले दिईरहेको सुविधा र आगामी दिनमा पुर्व प्रहरीलाई परेका समस्याहरुको समाधान गर्ने बारेमा पनि कार्यक्रमका बक्ताहरुले बताएका थिए ।